Photo : Reuters
काठमाडौं- बेलायतमा काेराेना भाइरससँग सम्बन्धित प्रायः सबै प्रतिबन्ध हटाउने निर्णय भएको छ।
काेराेना भाइरस नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध सोमबार मध्यरातदेखि हटाउन लागिएकाे हाे।
सामाजिक दूरी कायम गरी महामारी नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध हटेपछि बेलायतका सार्वजनिक स्थानमा हिँडडुल गर्दा वा काम गर्दा मास्क लगाउनु अनिवार्य हुनेछैन।
लामो समयदेखि पूर्ण सञ्चालनमा नल्याइएका रात्रि क्लबहरूलाई फेरि खोल्न पाइने छ। साथै सामूहिक जमघटका लागि पहिला तोकिएको संख्यासम्बन्धी प्रावधान अन्त्य हुनेछन्।
बेलायतमा दुई महिना अघिदेखि निकै शक्तिशाली रुपमा देखा परेको इन्डियन कोभिड भेरियन्ट डेल्टाको संक्रमण हाल तीव्र रुपमा बढ्न थालेको छ।
गएको २४ घन्टाभित्र ४८ हजारभन्दा बढी संक्रमित देखिएको छ। यो समेतगरी बेलायतमा अहिलेसम्म संक्रमित हुने व्यक्तिको संख्या ५४ लाख ३३ हजार पुगेको छ।
साथै गएको २४ घन्टाभित्र यस संक्रमणबाट २५ जनाको मृत्यु भएको छ। योसँगै बेलायतमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या १ लाख २८ हजार भन्दा बढी पुगेको छ।
बेलायतमा ८८ प्रतिशत वयस्कले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् भने अरु ६८ प्रतिशतले दोस्रो मात्रा नै लिएका बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।