काठमाडाैं- टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले तालिबानको व्यवहार मुसलमानको जस्तो नभएको बताएका छन्।
सोमबार इस्तानबुलमा पत्रकारहरूसँग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन्। ‘मेरो विचारमा तालिबानीको व्यवहार कुनै मुस्लिमले अर्को मुस्लिमसँग गर्ने खालको जस्तो छैन,’ उनले भने।
अफगानिस्तानमा शान्ति पुन: स्थापित भएको चाँडोभन्दा चाँडो संसारलाई देखाउन उनले तालिबानलाई अपीलसमेत गरेका छन्। ‘तालिबानले आफ्नै भाइहरूको जग्गा त्याग्नु पर्छ,’ उनले भने।
यस्तै, उनले टर्कीले काबुलको एयरपोर्टबारे तालिबानसँग कुरा गर्ने विचार गरिरहेको बताएका छन्। अमेरिकी सैनिकहरू फिर्ता भएपछि यो एयरपोर्ट सञ्चालन गर्ने इच्छा टर्कीले जाहेर गरेको छ।
टर्कीले अमेरिकी रक्षा अधिकारीहरूसँग यस सम्बन्धमा कुरा गरिरहेको छ। राष्ट्रपति एर्दोआनले जूनमा नाटो शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो वाइडेनसँगको पहिलो भेटमा उक्त मुद्दा उठाएका थिए।
तर,यो एयरपोर्टलाई लिएर टर्की र तालिबानबीच विवाद बढिरहेको छ। तालिबानले टर्कीलाई एयरपोर्ट सञ्चालन गर्न अनुमति दिन अस्वीकार गरेको छ।
सयौं तुर्की सैनिक अहिले पनि अफगानिस्तानमा छन्। तर, एक टर्की अधिकारीले आफ्नो सैनिक तालिबानसँग नलडेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीसँग बताएका छन्।
तालिबानले गत हप्ता टर्कीले काबुल एयरपोर्ट सञ्चालन गर्ने प्रस्ताव ‘घृणित’ भनेर टिप्पणी गरेको थियो। तालिबानले भनेको थियो,‘हाम्रो देशमा कुनै पनि विदेशी सेनाको उपस्थिति हामीलाई मान्य छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।