काठमाडाैं- अफगानिस्तानले पाकिस्तानमा रहेका आफ्ना सबै कूटनीतिक अधिकारीहरु फिर्ता बोलाउने निर्णय गरेकाे छ।
राष्ट्रपति असर्फ घानीको आदेशमा पाकिस्तानको लागि आफ्ना राजदूतसहितका सबै कूटनीतिक अधिकारीहरु फिर्ता बोलाउने निर्णय गरिएकाे अफगानिस्तानको विदेश मन्त्रालयले जानकारी दिएकाे हाे।
अफगानिस्तानका लागि पाकिस्तानी राजदूत नजीबुल्लाह अलिखिलकी छोरी सिलसिलालाई अज्ञात व्यक्तिहरुले अपहरण गरी कुटपिट गरेपछि सरकारले सुरक्षाको कारण यो कदम चालेकाे हाे।
गत शुक्रबार दिउँसो २७ वर्षीया सिलसिला ट्याक्सीमा इस्लामाबादको बेकरीबाट फर्किरहेकी थिइन्। उक्त ट्याक्सी चालकले अर्को व्यक्तिलाई बस्न लगाएर सिलसिलालाई अपहरण गरेका थिए। अपहरणपछि उनलाई कुटपिट पनि गरेको बताइएको छ।
केही घण्टापछि सिलसिलालाई बेहोश भएको अवस्थामा सडकमा छोडिएको थियो। मेडिकल रिपोर्टले पनि उनीमाथि कुटपिट भएको पुष्टि गरिसकेको छ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यो घटनालाई प्राथमिकतामा राखेर ४८ घण्टा भित्र दाेषिलाई कानूनी कठघरामा उभ्याउन गृहमन्त्री शेख रशीदलाई निर्देशन दिएका छन्।
गृहमन्त्री रशीदले अफगान राजदूतको छोरीलाई छोडेका ट्याक्सी चालकलाई पक्राउ गरिएको जानकारी दिएका छन्। यसका साथ बजारमा राखिएको सिसिटिभि क्यामेराको पनि जाँच भइरहेको भन्दै दाेषिलाई कानूनी कठघरमा उभ्याइने वचन दिसकेका छन्।
यद्यपि, अफगानिस्तानले आफ्ना सबै कूटनीतिक अधिकारी फिर्ता गर्ने निर्णय गर्नुलाई पाकिस्तानले भने दुर्भाग्यपूर्ण र दुखद् खबर रहेकाे बताएकाे छ।
यता, भारतीय विदेश मन्त्रालयले पनि पाकिस्तानमा रहेका आफ्ना कूटनीतिज्ञ अधिकारी र उनीहरुकाे परिवारलाई सतर्कता अपनाउन आग्रह गरेकाे छ। सरकारी स्राेतका अनुसार मन्त्रालयले आफ्ना कूटनीतिज्ञहरुलाई बेलाबेलामा फाेन गरेर अवस्थाकाे बारेमा जानकारी लिने गरेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।