काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘गद्दार’ भएको आरोप लगाएका छन्।
सोमबार सुरु भएको एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले नेपाललाई ‘कम्युनिस्ट आन्दोलनकै गद्दार भएको’ आरोप लगाए। उनले नेपाललाई अब एमालेमा कुनै ठाउँ नभएको घोषणासमेत गरेका छन्।
‘माधव नेपाल कम्युनिष्ट आन्दोलनको गद्दार हुन्, एमालेमा उनलाई ठाउँ छैन’, सम्बोधनका क्रममा नेपालप्रति आक्रोशित ओलीले भने, ‘कोही साथीहरु गल्ती स्वीकार गरेर, सच्चिएर आउनुहुन्छ भने स्वागत छ, तर माधव नेपाललाई त्यो ठाउँ छैन।’
आइतबार प्रतिनिधि सभामा एमालेका २२ जना सांसदले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए। २२ जनामा धेरैजसो नेपालपक्षका थिए भने केही ओलीपक्षकै सांसद थिए। आइतबारको घटनालाई ओलीले ‘चरम अनैतिक’ भएको टिप्पणी गरे।
ओलीले उनीहरुलाई पार्टीले कारबाही गर्ने संकेत गरे। ‘पार्टीप्रति गद्दारी गर्नेहरुलाई कारबाही नगर्ने हो भने एमाले पार्टी अब पार्टी नै रहन्न’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।