काठमाडाैं– निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) भित्र देखिएको विवाद निरुपणको प्रक्रिया थालनी गरेको छ।
आयोगले जसपा विवादबारे टुंगो लगाउन प्रमुख आयुक्तको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको थियो। सो इजलासले आइतबारबाट जसपा विवादबारे सुनुवाइ सुरु गरेको हो।
यसअघि आयोगले जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षलाई बोलाएर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ (४) को व्यवस्थाअनुसार सहमतिको प्रयास गरेको थियो।
सो छलफलमा जसपाका दुवै पक्ष सहमत नभएपछि आयोगले कानुनी प्रक्रियामार्फत विवाद निरुपणका लागि इजलास गठन गरेको हो।
आयोगले जसपाको दुवै पक्षसँग आवश्यक सक्कल कागजात मागेको छ।आयोगले जसपा विवादबारे टुंगो लगाउन राजनीतिक दलसम्बन्धी ऐन २०७३ को व्यवस्थाअनुसार प्रमुख आयुक्तको संयोजकत्वमा इजलास गठन गरेको थियो।
यसैबीच, पार्टीभित्र विवाद रहेकै अवस्थामा जसपाका दुवै पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्। विश्वासको मत दिएसँगै दुवै पक्ष एकै ठाउँमा आइपुगेको भन्दै पार्टी अध्यक्ष महन्थ ठाकुर पक्षले उपेन्द्र यादव पक्षलाई निवेदन फिर्ता लिन आग्रह गरेको छ। यादव पक्षले भने निवेदन फिर्ता नहुने तर आत्मालोचना गरेर आए एकता सम्भव रहेको प्रतिक्रिया दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।