काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले जसपा सांसद रेशम चाैधरीलाई जेलबाट रिहा गर्ने कुरामा कानुनले दिएसम्म गर्ने बताएका छन्।
प्रतिनिधि सभामा विश्वासको मत लिने प्रक्रियामा जसपाका नेताहरुले उठाएको प्रश्नमा जवाफ दिँदै देउवाले राजनीतिक व्यक्तिलाई जेलमा राखेर समाधान नहुने तर अदालतले नमान्ने भएका कारण समस्या हुने उनले बताए।
उनले अदालतमा हस्तक्षेप गर्न मिल्दैन भन्ने मान्यता कांग्रेसको रहेको भन्दै उनले राजनीतिक व्यक्ति जेलमा बस्न नहुने मान्यता राख्ने बताए।
‘रेशम चौधरीलाई म चिन्छु। उहाँलाई छुटाउन चाहँदैमा हुँदैन’, देउवाले भने।
राजवन्दीलाई छुटाउने सबैको चाहना हुने भन्दै उनले जेलमा कसैलाई पनि राख्ने रहर नभएको बताए। सकिने काम गर्न तयार रहेको भन्दै उनले संविधान अनुसार मिल्ने काम गर्ने बताए। मधेशी, थारु लगायत सबैको संविधान भएकाले सबैलाई समेटेर लैजाने प्रयास गर्ने उनले बताए।
‘म डडेलधुराको मानिस हुँ। लिम्पीयाधुराका बारेमा मैले तपाईभन्दा धेरै जानेको छु ’ उनले भने। अहिले कोरोना महामारी भएकाले यसमा सरकार केन्द्रित रहने देउवाको प्रतिवद्धता छ। ‘सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप हो’ उनले भने ‘विकास आवश्यक छ तर जिन्दगी बचाउनू झन महत्त्वपूर्ण छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।