काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले संविधानमा अझै विभेद कामय रहेको दाबी गरेका छन्। प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवालाई विश्वासको मत दिने भन्दै उनले संविधानमा अझै पनि विभेद भने कायमै रहेको दाबी गरे।
‘सुशील कोइरालालाई मत दिँदा हाम्रो आन्दोलन मत्थर भयो। अहिले पनि हामी मत दिन आएका छौं’, उनले भने ‘यो संविधानले गर्दा हामीले गोली खानु परेको छ। जेल जान परेको छ।’
उनले आफ्ना घटनास्थलमा नरहेका रेशम चौधरीलाई जेलमा हालिएको भन्दै सुरक्षाकर्मीले गोली चलाउँदा अधिकार हुने र आफूहरुले चलाउँदा अपराध हुने अन्यायपूर्ण व्यवस्था रहेको बताए।
'जुन संविधानको गुणगान गर्नु भएको छ त्यसले विभेद गरेको छ। विगतमा पनि उपेक्षित र अहिले पनि उपेक्षित छाैं। नागरिकता विधेयकका बारेमा गम्भीर हुन म सरकारलाई आग्रह गर्न चाहन्छु', ठाकुरले भने।
नागरिकता विधेयक सम्बन्धी मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन रहेको र अदालतको आदेश आफूहरुले मान्ने भन्दै उनले राष्ट्रियता अदालतले कि राज्यले गर्ने भनी प्रश्न गरे।
नागरिकता नहुँदा नागरिकको सामान्य कामहरु रोकिएको भन्दै उनले जग्गा जमिनदेखि पासपोर्ट नपाएर श्रम गर्न समेत नपाएको दाबी गरे। समाजले यस्ता व्यक्तिको योग्यता पाउन नसकेको भन्दै उनले मुर्तिको भएको तर, जीवित व्यक्तिको व्यक्तित्व अस्वीकार भएको बताए।
'संविधान संशोधनमा हामीले धेरै संघर्ष गरेका थियौं। तर, लागू भएन। एक पटक भएको संशोधन लागू नै गरिएन। मधेश आन्दोलनमा धेरै ज्यादती भएको छ।यसको आयोग बनेपनि प्रतिवेदन सार्वजनिक गरिएन। किन सार्वजनिक भएन?', उनले प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।