काठमाडाैं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज सदनले एमाले अध्यक्ष केपी शर्मा ओलीका कुरा सुन्न चाहेको बताएका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले पूर्वप्रधानमन्त्रीको हैसियतले र प्रतिपक्षी दलको नेताको हैसियतले पनि ओलीले आज बोल्नुपर्ने बताए।
'मैले प्रमुख सचेतकलाई सोधें- केपीजी आउनुहुन्छ नि? तीनपटक सोधें। उहाँले आउनुहुन्छ भन्नुभयो। उहाँले नै बोल्नुहुन्छ भन्नुभयो', प्रचण्डले भने, 'मैले सामान्य रुपमा के सोचेको थिएँ भने पुनःस्थापित संसद्को पहिलो बैठकमा पूर्वप्रधानमन्त्रीको हैसियतले र प्रतिपक्षी दलको नेताको हैसियतले पनि यो सदनले पनि केपीजीको मुखबाट नै आफ्ना कुरा सुन्न चाहेको थियो। र, देशले पनि।'
उनले आजको दिन सदनको रोस्टमबाट निवर्तमान प्रधानमन्त्रीले के चाहिँ भन्नुहोला भन्ने सुन्न चाहेको बताए। तर, आज ओली बोलेका थिएनन्। 'त्यो पनि भएन। उहाँ अरु बिमारी भएर हो कि के हो, मलाई थाहा छैन। तर, मलाई उहाँले बोल्नुहुन्छ भनिकएको थियो। तर, मलाई अलि अस्वभाविक महसुस भएको छ। यो लोकतान्त्रिक संस्कार हो कि अलोकतान्त्रिक?', प्रचण्डले भने।
उनले चरम महत्वकाक्षा,अहंकार बोकेका ओलीले भन्ने एउटा तर गर्ने अर्को काम गरेको प्रचण्डको आरोप छ। ‘यसको साक्षी हामी ज्युँदो छौं। यहाँ नहुँदा हो भने पत्याउन त सकिएला तर हामी त भोगेका छौं’, उनले भने ‘जनताले राम्ररी बुझेको छ भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्दै भ्रष्टाचारको संरक्षणको गर्ने कुरा अब चल्दैन।'
उनले पार्टीभित्रको विवाद मिलाउन नसक्ने अनि संसदलाई प्रहार गर्ने कुन चाहिँ लोकतन्त्र हो भन्दै प्रश्न गरे। ‘सत्ताको बलले त्यसलाई किच्न खोज्ने कुन चाहिँ लोकतन्त्र हो?’, उनले भने, ‘संसद्को हत्या गर्दै हिँड्ने अहिले लोकतन्त्र जान लाग्यो भनेर गोहीको आँशु चुहाउँदैमा तपाईलाई कसैले पत्याउँछ?’
उनले सदन पार्टी भन्दा माथि सार्वभौम जनताको अधिकार रक्षा गर्न दिएको अधिकार भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।