काठमाडौं– नेकपा एमालेका नेता प्रदीप कुमार ज्ञवालीले प्रमुख प्रतिपक्षीको रुपमा आफ्नो दलले आँखा नझिम्क्याइ वर्तमान सरकारलाई हेरिरहने बताएका छन्।
आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मत माग्ने सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता ज्ञवालीले सरकारले गरेका सबै कर्महरुलाई आफ्नो दलले आँखा नझिम्क्याइकन हेरिरहने बताए।
‘हामी आँखा नझिक्काइ हेरिरहने छौं। हामी सरकारले गर्ने सबै कर्महरु हेरिरहने छौं,’ ज्ञवालीले भने, ‘सरकारले ल्याएको अति आवश्यक अध्यादेश पेस गर्न नदिने प्रतिपक्ष बन्ने छैनौं। अहिले देख्नुभयो नि, कस्तो हुन्छ प्रतिपक्ष।'
आवश्यक पर्ने ठाउँमा मात्रै सरकारको विरोध गर्ने बताउँदै नेता ज्ञवालीले 'फेशनको रहर' नहुने टिप्पणी गरे।
सरकारले गरेका राम्रा कुरालाई निरन्तरता दिन प्रतिपक्षको सहयोग हुने ज्ञवालीले बताए। केपी ओली नेतृत्वको सरकारमा मन्त्री समेत रहेका ज्ञवालीले विगतमा भएका 'राम्रा काम' उल्ट्याउन खोजे आफूहरु चुप लागेर नबस्ने चेतावनी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।