फाइल तस्वीर
काठमाडौं– नेकपा एमालेका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप ज्ञवालीले देशमा पुन: निर्दलीय व्यवस्थाको अभ्यास भएको टिप्पणी गरेका छन्।
आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मत माग्ने सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता ज्ञवालीले ३२ वर्ष अघि अन्त्य भएको निर्दलीयतालाई 'जस्केलाबाट छिराइएको' टिप्पणी गरे।
ज्ञवालीले देउवा निर्दलीय व्यवस्था छिराएर प्रधानमन्त्री बनेको पनि टिप्पणी गरे। 'यसरी प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई बधाई या शुभकामना कसरी दिने होला भन्ने लागिरहेको छ,' ज्ञवालीले भने।
आफ्नो पार्टी (एमाले)ले सर्वोच्च अदालतको फैसला मान्ने बताउँदै नेता ज्ञवालीले सर्वोच्चले प्रधानमन्त्री तोक्ने कुराको गर्न नसकिने पनि बताए।
'एमाले विधिको शासनमा विश्वास गर्छ। संविधानको सर्वोच्चतामा विश्वास गर्छ। जतिसुकै अप्रिय भए पनि हामी सर्वोच्च अदालतका फैसला मान्छौं,' ज्ञवालीले भने, 'तर, जे भए पनि सर्वोच्चले प्रधानमन्त्री तोक्ने कुराको हामी कल्पना गर्दैनौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।