काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राम्रा कामहरुका लागि धन्यवाद दिएका छन्। आइतबार प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने क्रममा उनले ओलीलाई धन्यवाद दिएका हुन्।
देउवाले आफूलाई सबैले विश्वासको मत दिने विश्वास लिएको बताए। ‘मुलुक जटिल अवस्थामा छ। कोभिडले निकै प्रभावित भएका छौं। अहिले पनि संक्रमित बढिरहेका छन्’, देउवाले भने ‘कोभिडबाट जोगाउनु सरकारको पहिलो काम हुने छ। सरकारले सबैलाई जोगाउने प्रतिवद्धता गर्दछ।’
संविधान सबैको सहयोगले बनेकाले सबैले मिलेर सहकार्य र सहयात्रा गरेर अघि बढ्नुपर्ने उनले बताए। सबैसँग आ-आफ्नै अनुभव रहेको भन्दै उनले असल कामका लागि केपी शर्मा ओलीलाई धन्यवाद दिए। 'विगतमा भएका राम्रा कामहरुको निरन्तरता दिएर जाने छु’ उनले भने, 'अझै राम्रा र नयाँ काम गर्नुपर्ने छ। म सँधै यसका लागि तत्पर छु।’ सबै मिलेर साझा भावनाका साथ काम गर्नुपर्ने प्रधानमन्त्री देउवाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।