काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको इजलासमा बहस सकिएको छ।
उपेन्द्र यादव–बाबुराम भट्टराई र महन्थ ठाकुर–राजेन्द्र महतो दुवै पक्षको बहस सकिएको छ। निर्वाचन आयोगले जसपा विवादका विषयमा गठन गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित पाँच सदस्यीय इजलासमा आइतबार दुवै पक्षका वकिलले बहस गरेका छन्।
उपेन्द्र-बाबुराम पक्षबाट ९ वकिल र महन्थ-राजेन्द्र पक्षबाट ८ वकिलले आ-आफ्नो तर्क प्रस्तुत गर्दै बहस गरेका थिए। इजलासमा दुवै पक्षको बहस सकिएपछि केही दिनभित्रै पार्टी आधिकारिकताका विषयमा फैसला आउने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।
‘आज दुवै पक्षको बहस गरेर सकिएको छ। बहसकै आधारमा आयोगले आफ्नो निर्णय सुनाउँछ’, श्रेष्ठले भने।
जसपा विवादका विषयमा निर्वाचन आयोगमा उजुरी परेपछि दुवै पक्षलाई बोलाएर गत असार २२ गते छलफल समेत गरिएको थियो। अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले आफूहरु मिल्न नसक्ने भन्दै दल आधिकारिकता टुंगो लगाइदिन लिखित रुपमा हस्ताक्षर गरेर आयोगलाई बुझाएका थिए।
आयोगले दलको आधिकारिकता टुंगो लगाउन इजलास गठन गरेर आइतबार दुवै पक्षको बहस गराएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।