Getty Images
काठमाडाैं- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गृहमन्त्रीलाई ४८ घण्टा भित्र इस्लामाबादका अफगान राजदूतकी छोरीलाई अपहरण गरी कुटपिट गर्नेलाई पक्राउ गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री खानले शनिबार गृहमन्त्री शेख रशीदलाई बोलएर सबै प्रकारका संसाधनहरू प्रयोग गरेर अफगानिस्तानका लागि पाकिस्तानी राजदूत नजीबुल्लाह अलिखिलकी छोरी सिलसिलालाई अपहरण गरी कुटपिट गर्नेलाई पक्राउ गर्न आदेश दिएका हुन्।
उनले घटनामा संलग्न कोही दोषीलाई उन्मुक्ति दिन नहुने बताएका छन्। सिलसिला अलिखिललाई शुक्रबार इस्लामाबादको बजारबाट केही अज्ञात व्यक्तिहरूले अपहरण गरेर कुटपिट गरेका थिए।
पाकिस्तानको परराष्ट्र मन्त्रालयले पनि एजेन्सीहरूले अपराधीलाई खोजिरहेको जानकारी दिएको छ।
यता, पाकिस्तानका गृहमन्त्री रशीदले अफगान राजदूतको छोरीलाई छोडेका ट्याक्सी चालकलाई पक्राउ गरिएको जानकारी दिएका छन्। यसका साथ बजारमा राखिएको सिसिटिभि क्यामेराको पनि जाँच भइरहेको जानकारी दिएका छन्।
२७ वर्षीया सिलसिला शुक्रबार दिउँसो ट्याक्सीमा इस्लामाबादको बेकरीबाट फर्किरहेकी थिइन्। उक्त ट्याक्सी चालकले अर्को व्यक्तिलाई बस्न लगाएर सिलसिलालाई अपहरण गरेका थिए। अपहरणपछि उनलाई कुटपिट पनि गरेको बताइएको छ।
केही घण्टापछि सिलसिलालाई बेहोश भएको अवस्थामा सडकमा छोडिएको थियो। मेडिकल रिपोर्टले पनि उनीमाथि कुटपिट भएको पुष्टि गरिसकेको छ।
उनको अहिले उपचार चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।