फाइल तस्वीर।
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले लिन लागेको विश्वासको मतमा नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले सघाउने नेपाली कांग्रेसले बताएको छ। आइतबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि कांग्रेस सचेतक पुष्पा भुसालले सो पक्षको साथ यथावत् रहेको बताएकी हुन्।
माधव नेपाल पक्षले सघाउने सन्दर्भमा प्रतिक्रिया दिँदै उनले भनिन्- 'संविधानको रक्षाका लागि जुन समूहहरु, राजनीतिक दलहरुको नेतृत्वहरु र दलहरुले हिजोको दिनमा गठबन्धन गरेर संविधानको रक्षा र संसदीय मूल्यमान्यताको लागि सम्माननीय सर्वोच्च अदालतमा अगाडि बढ्दै जाँदा जुन साथ रहेको थियो। त्यो साथ यथावत् रहेको कुरा पनि जानकारी गराउन चाहन्छु।'
उनले माधव नेपाल पक्ष पछिल्लो अभियानमा नेपाली कांग्रेससँगै भएको उनले बताइन्।
बैठकले विश्वासको मतमाथि हुने मतदान प्रक्रियामा अनिवार्य उपस्थित हुन भनेको छ। 'संसदीय दलले संसदीय दलमा रहनुभएका नेपाली कांग्रेसका सम्पूर्ण माननीयहरुलाई आजको विश्वासको मतलाई पारित गराउनका अनिवार्य उपस्थितिको लागि नेपाली कांग्रेसले आफ्नो ह्वीप जारी गरेको छ', बैठकपछि सचेतक भुसालले भनिन्।
संसदीय दलको बैठकले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई विश्वासको मतको पक्रियामा साथ र सहयोग गर्नका लागि आग्रह पनि गरेको भुसालले बताइन्। उनका अनुसार संविधानको रक्षा गरेको र प्रधानमन्त्रीमा नियुकत गर्ने आदेश दिएकोमा सर्वोच्च अदालतलाई धन्यवाद पनि दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।