काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालाई दिने विश्वासको मतबारे औपचारिक निर्णय गर्न जसपाको संसदीय दलको बैठक बसिरहेको छ। बालकुमारीस्थित पार्टी कार्यालयमा बसिरहेको बैठकमा अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षधर सांसदहरुको सहभागिता रहेको छ।
बैठकमा २० जना सांसद्हरु सहभागी भएको दाबी गरिएको छ। जसपा सांसद् मोहम्मद इश्तियाक राईले २० जना सहभागी भएको ट्विटरमा लेखेका हुन्। 'आज जसपा दलको बैठकमा १८+२=२० जना सहभागी !', उनले लेखेका छन्।
जेठ ७ गते प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्दा यादव पक्षका १२ जना सांसद्ले मात्रै हस्ताक्षर गरेका थिए। प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्दा पनि सो पक्षका १२ जनाले हस्ताक्षर गरेका थिए।
त्यतिबेला महन्थ ठाकुर र राजेन्द्र महतो पक्षमा २० सांसद् खुलेका थिए। तर, देउवा प्रधानमन्त्री भएसँगै सांसदहरु यादव पक्षमा आउने क्रम जारी छ। हिजो मात्रै ५ जना यादव पक्षमा खुलेपछि सो पक्ष बहुमतमा पुगेको थियो। थप सांसदहरु आफूहरुको पक्षमा आउने यादव पक्षका नेताहरुको दाबी छ।
यसअघि महन्थ ठाकुर पक्षमा रहेकी रेणुका गुरुङ आज उपेन्द्र पक्षको बैठकमा छन्। राजकिशोर यादव र गोविन्द चाैधरीले पनि देउवालाई विश्वासको मत दिने जसपा नेताहरूको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।