काठमाडौं– नेकपा एमालेको संस्थापन पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल बेग्लै कोर्समा अघि बढेको निष्कर्ष निकालेको छ। आइतबार बसेको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता प्रदीप कुमार ज्ञवालीले नेपाल एक्लै भए पनि देउवालाई मत दिने पक्षमा रहेको बताए।
ज्ञवालीले आफूहरुले बिहान नेपालसँग पनि भेटघाट गरेको गरेको बताउँदै उनले एउटा बिन्दुमा पुगिसेकको हुनाले आफूले प्रस्तावको पक्षमा मत हाल्ने कुरा गरेको बताए। उनी पार्टीलाई एकताबद्ध बनाएर अगाडि लिएर जाने कुरामा इच्छुक नदेखिएको ज्ञवालीले बताए।
'आजको बैठकपश्चात हामीचाहिँ उहाँ बेग्लै कोर्समा हिँड्न चाहनुभएको प्रष्टै देखियो। त्यसलाई फर्काउनका निम्ति साथीहरुले प्रयत्न त गरिरहनुभएको छ', ज्ञवालीले भने, 'उहाँहरुको प्रयासले परिणाम आयो भने बेग्लै कुरा हो। अन्यथा माधव नेपाल एउटा निष्कर्षमा पुग्नुभएकोचाहिँ हामीले देख्यौं।'
त्यस्तै ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनेहरु पार्टीमा नरहने बताएका छन्। 'नेकपा एमालेको संस्थागत निर्णयभन्दा बाहिर गएर आफ्नै पार्टीको नेतृत्वको सरकारलाई ढलाएर बनेको सरकार या प्रधानमन्त्रीको पक्षमा मत हालिसकेपछि ती साथीहरु पार्टीभित्र रहनुहुन्न', उनले भने।
उनले बाँकी विषयहरु प्रतिनिधि सभामा मतदान सकिएपछि छलफल गरेर घोषणा गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।