काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन गरेको निर्णयले नेकपा एमालेको माधवकुमार नेपाल समूह ‘अचम्मित’ बनेको छ।
यसअघि देउवासहितको विपक्षी गठबन्धनमा रहेको नेपाल समूह देउवाको निर्णयले अचम्मित भएको हो। देउवाको निर्णयपछि नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ।
नेपाल समूहका नेताहरू नेता नेपालनिवास पुगेर उनीसँग परामर्श समेत गरेका छन्। नेपाल समूहका नेता गोकर्ण विष्टले देउवाको निर्णयले आफूहरू अचम्मित भएको बताए।
उनले यस विषयमा आफ्नो समूहमा छलफल गरेर अघि बढ्ने समेत बताए।
नेपाल पक्षका नेता भीम आचार्यले भने प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन लागेको सन्दर्भलाई एमाले फुटाउने षडयन्त्र भनेका छन्।
आइतबार माधवकुमार नेपालसँगको भेटवार्ताका लागि उनको निवास कोटेश्वर पुगेका आचार्यले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै अहिल्यै विश्वासको मत लिनुपर्ने जरुरी नभएको बताए।
उनले आफूहरु दश बुँदे प्रस्तावमार्फत् अघि बढिरहेको बेलामा विश्वासको मत लिन खोजिएकोमा असन्तुष्टि जनाए। 'हतारहतार विश्वासको मत लिइँदैछ। त्यो नेकपा एमालेलाई विभाजन गर्ने कुत्सित षडयन्त्र अन्तर्गत यो चिज भइरहेको छ। जबकि हामी दश बुँदे सहमतिपश्चात् विभाजित भएर एमालेले भोट हाल्दैन भनिरहेका छौं। त्यहाँ बुँदा पनि उल्लेख गरेका छौं। त्यसैले एक महिनाभित्र लिनुपर्ने विश्वासको मत चार दिनभित्र लिनुपर्ने के जरुरी छ? यो पार्टी फुटाउने षडयन्त्र बाहेक के हो?', उनले प्रश्न गरे।
उनले विश्वासको मत लिने विषयमा आफूहरुसँग सल्लाह नभएको बताए। आफ्नो टिममा पनि केही नभनिएको बताए। 'हामीसँग विश्वासको मत लिने सन्दर्भमा केही पनि छलफल भएको छैन', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।