फाइल तस्वीर।
काठमाडौं- सरकारले पूर्ववर्ती सरकारले गरेको ९ देशका राजदूतहरुको नियुक्तिसम्बन्धी निर्णय खारेज गरेको छ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको राजदूत नियुक्ति सम्बन्धी निर्णय खारेज गर्ने निर्णय गरेको हो।
‘संसदीय प्रक्रिया छलेर नियुक्ति गरिएकाले त्यो नियुक्ति खारेज गर्ने निर्णय भएको छ’, एक मन्त्रीले नेपाल लाइभसँग भने, ‘अब अन्य नियुक्ति पनि उल्टिन सक्छन्।’
पूर्ववर्ती सरकारले अस्ट्रियामा निर्मलराज काफ्ले, श्रीलंकामा रमेशचन्द्र पौडेल, इजिप्टमा जीवनप्रकाश श्रेष्ठ, दक्षिण कोरियामा कृष्णचन्द्र शर्मा, रसियामा जंगबहादुर चुहान, अष्ट्रेलियामा सुम्निमा तुलाधारलाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।
त्यस्तै, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, ब्राजिलमा कुलप्रसाद नेपाल, डेनमार्कमा सुमित्रा सुवेदी, साउदी अरबमा मेराज मुसलमान र बहराइनमा युवराज कार्कीलाई राजदूतमा सिफारिस गरेको थियो। उनीहरुमध्ये कार्कीको योग्यता नपुगेको कारण देखाउँदै सर्वोच्चले रोक लगाएको थियो। संसद नभएका बेला उनीहरुलाई संसदीय सुनुवाइबेगर नै नियुक्त गरिएको थियो।
नियुक्त भएका राजदूतहरुलाई परराष्ट्र मन्त्रालयले सम्बन्धित मुलुकमा ‘एग्रिमो’का लागि पत्राचारसमेत गरिसकेको थियो।
देउवा सरकारले गरेको पूर्ववर्ती सरकारले गरेका निर्णय उल्ट्याउने यो पहिलो निर्णय हो। मन्त्रिपरिषद्बाट भएको निर्णयअनुसार आवश्यक प्रक्रिया अघि बढाउन परराष्ट्र मन्त्रालयलाई समेत भनिसकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।