काठमाडौं- नेकपा (एमाले)ले स्थायी कमिटीको बैठक सुरु भएको छ। तुलसीलाल स्मृति भवन च्यासल, ललितपुरमा जारी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने अनुपस्थित छ।
यसअघि शुक्रबार पनि एमालेको स्थायी कमिटी बैठक बसेको थियो। शुक्रबारको बैठकमा पनि नेपाल पक्ष सहभागी भएको थिएन। त्यो दिनको बैठकले एकता कार्यदलले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै कार्यदल भंग गर्ने निर्णय गरेको थियो।
यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने, सर्वोच्च अदालतको फैसलाको देशव्यापी भण्डाफोर गर्ने लगायतका निर्णय गरेको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै छन्। सर्वोच्च अदालतको आदेशबाट पुन:स्थापित प्रतिनिधि सभाको बैठक आज अपरान्ह ४ बजे बस्दै छ। राष्ट्रिय सभाको अधिवेशन पनि आजैबाट सुरु हुनेछ।
प्रतिनिधि सभा पुन:स्थापना गर्दै नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश जारी गरेपछि एमाले प्रमुख प्रतिपक्ष बनेको छ।
जसका कारण एमालेभित्रको एकता पनि अन्योलमा परेको छ। शनिबार विघटित कार्यदलका नेताहरूले सिंहदरबारमा अनाैपचारिक छलफल गरेका थिए। शनिबार साँझ नै उनीहरुले बालकोटमा पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए।
यता, वरिष्ठ नेता नेपाल पक्षीय नेताहरु भने आन्तरिक छलफलमा जुटेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएपछि उनीहरु आन्तरिक छलफलमा जुटेका हुन्।
कोटेश्वरस्थित नेपाल निवासमा उक्त समूहका नेताहरु पुगेका छन्। प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने/नदिने विषयमा छलफल भइरहेको उक्त समूहका एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।