काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको एकता जोगाउने पहलका निम्ति पहिले वरिष्ठ नेता माधवकुमार नेपालसित कुरा गर्न पार्टीका दोस्रो तहका नेताहरुलाई आग्रह गरेका छन्।
शनिबार साँझ ओलीलाई भेट्न बालकोटस्थित निवासमा पुगेका विघटित एमाले एकता कार्यदलका सदस्यहरुलाई ओलीले यस्तो आग्रह गरेका हुन्। ओलीलाई भेट्न रघुजी पन्त र विष्णु रिमालबाहेक विघटित कार्यदलका सबै सदस्यहरु बालकोट पुगेका थिए।
ओलीलाई भेटेका विघटित कार्यदलका सदस्य एवं एमाले स्थायी कमिटी सदस्य गोकर्ण विष्टले एकताको आधार १० बुँदे सहमति भएकाले यही आधारमा पार्टी जोगाउनका लागि पार्टी अध्यक्षका हिसाबले भूमिका खेल्न ओलीलाई आग्रह गरेको नेपाल लाइभलाई बताए। 'विगतमा जे भो त्यसको एउटा समयमा समीक्षा गरौंला, तर अहिले पार्टी जोगाउनुपर्छ। यही कुरा माधव नेपाललाई पनि भन्छौं। तपाईं पार्टी अध्यक्ष भएकाले मुख्य जिम्मा खेल्नुपर्छ भन्यौं,' उनले भने, 'यसका लागि वातावरण बनाउनका लागि कार्यदलले गरेको सहमति पूर्णरुपमा पालना गर्न तपाईंले भूमिका खेल्नुपर्यो भनेर आग्रह गर्यौं।'
विष्टले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयनका लागि आफू तयार रहेको बताएको जानकारी दिए। 'मैले तपाईंका कुरा सुनें, माधव नेपालसँग पनि कुरा गर्नुस् भनेर उहाँले भन्नुभो,' विष्टले भने, '१० बुँदालाई कार्यान्वयन गरेर जान म तयार छु, तर माधवजी पनि तयार हुनुपर्यो भन्नुभो। हामीले माधव नेपाललाई पनि भेटेर कुरा गर्छौं भनेका छौं।'
पार्टीका बैठक राखिएको तर सहमतिका आधारमा मात्र बैठक गर्नका लागि वातावरण बनाउनसमेत आफुहरुले आग्रह गरेको विष्टले बताए। आइतबार विघटित कार्यदलका सदस्यहरुले माधव नेपाललाई भेट्नेसमेत उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।