काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षको कार्यकारिणी समितिको बैठक बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो ३ बजेदेखि बैठक जारी रहेको एक नेताले बताए।
संसद् पुनर्स्थापनासँगै केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमन भएपछि महन्थ–राजेन्द्रपक्ष थप अप्ठ्यारोमा परेको छ। यो पक्षले ओलीलाई साथ दिएको थियो। पार्टीभित्र परेको अप्ठ्यारो र आगामी रणानीतिबारे महन्थ-राजेन्द्र पक्ष छलफलमा जुटेको हो।
पाँच दलीय मोर्चाका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनिसेको छन्। जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले देउवालाई साथ दिएको छ।
ओलीले संसद पुनर्स्थापना भएपनि/नभएपनि आफू नै प्रधानमन्त्री हुने भन्दै २० जना संसाद एकढिक्का हुन निर्देशन दिएका थिए। केही दिनभित्र आफू नै प्रधानमन्त्री भएर आउने भएकाले सर्वाेच्चको आदेशपछि मन्त्री पद गुमाएका जसपाका नेताहरूलाई मन्त्री निवास र आफूले प्रयोग गर्दै आएको गाडी समेत प्रयोग गर्न सुझाएका थिए।
आफू पक्षको कार्यकारिणी समितिको बैठक बस्नुअघि शनिबार बिहान यो पक्षका नेताहरू ओलीलाई भेट्न बालकोट पुगेका थिए। सामान्य भेटघाटका लागि गएको भन्ने गरेपनि ओलीसँग पार्टी रणनीतिका विषयमा समेत छलफल भएको हुन सक्ने बुझिएको छ। महन्थ–राजेन्द्र पक्षमा कार्यकारिणी समितिमा ५१ जना मध्ये १९ जना र ३२ संसाद मध्ये १५ जना मात्रै खुलेर लागेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।