काठमाडाैं- नेकपा (एमाले)ले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको छ। पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले यही साउन ४ गते सोमबार ११ बजे बस्नेगरी केन्द्रीय कमिटी बैठक बोलाइएको जानकारी दिए।
बैठक ललितपुरस्थित तुलसीलाल स्मृति भवन च्यासलमा हुने उनले बताए। यसअघि आइतबार बिहान ११ बजे सोही स्थानमा बस्नेगरी स्थायी कमिटी बैठक बोलाएको थियो।
यसअघि शुक्रबार पनि एमालेको स्थायी कमिटी बैठक बसेको थियो। बैठकले एकता कार्यदलले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै कार्यदल भंग गर्ने निर्णय गरेको थियो।
यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने, सर्वाेच्च अदालतको फैसलाको देशव्यापी भण्डाफोर गर्ने लगायतका निर्णय गरेको थियो।
आइतबार नै पुनर्स्थापित प्रतिनिधि सभाको अधिवेशन बोलाइएको छ। राष्ट्रिय सभाको अधिवेशन पनि आइतबार सुरु हुनेछ।
प्रतिनिधि सभा पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चले परमादेश जारी गरेपछि एमाले प्रमुख प्रतिपक्ष बनेको छ।
जसका कारण एमालेभित्रको एकता पनि अन्योलमा परेको छ। शनिबार विघटित कार्यदलका नेताहरूले सिंहदरबारमा अनाैपचारिक छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।