काठमाडाैं- राष्ट्रपति कार्यालयले नवनियुक्त महान्यायाधिवक्ताको शपथ ग्रहण राष्ट्रपतिको कार्यालयमा नभएको भनी विभिन्न सञ्चार माध्यममा प्रकाशित/प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।
कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै महान्यायाधिवक्ताले प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ गर्नुपर्ने व्यवस्था रहेको र कोभिड-१९ महामारीका कारण राष्ट्रपतिबाट शपथ ग्रहण गर्नेबाहेक अन्य पदाधिकारीको शपथ सम्बन्धित निकायमा नै गराउने व्यवस्था गर्न यसअघि नै पत्राचार गरिसकिएको स्पष्ट पारेको छ।
यसअघिको प्रचलनविपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त महान्यायाधीवक्ता खम्मबहादुर खातीको सपथ ग्रहण समारोह शीतलनिवासमा आयोजना गर्न अस्वीकार गरेको भन्दै आलोचना भएको थियो। नवनियुक्त महान्यायाधीवक्ता खातीले आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाट शपथ लिएका थिए।
'महान्यायाधिवक्ताको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०५२ को परिच्छेद ५ को दफा २१ मा महान्यायाधिवक्ताले आफ्नो पदको कार्यभार सम्हाल्नुअघि सम्माननीय प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ गर्नुपर्ने व्यवस्था रहेको छ,' विज्ञप्तिमा उल्लेख छ, 'विगतमा महान्यायाधिवक्ता लगायत संवैधानिक अङ्गका पदाधिकारीहरूको शपथ ग्रहण सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा हुँदै आएकोमा कोभिड-१९ विश्वव्यापी महामारीको अवस्थासमेतलाई मध्यनजर गरी यस कार्यालयबाट सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा हुनुपर्ने भनी व्यवस्था भएकोमाबाहेक सम्माननीय प्रधान न्यायाधीशज्यूबाट शपथ ग्रहण गराउने पदाधिकारीको शपथ अदालतबाटै आयोजना हुने व्यवस्थाको लागि मिति २०७८/१/५ मा पत्राचार गरिएको हो।'
राष्ट्रपतिको समुपस्थितिमा शपथ ग्रहण हुनुपर्ने भनी व्यवस्था भएकाबाहेक उक्त मितिपश्चात् नियुक्ति भएका अन्य संवैधानिक अङ्ग लगायतका पदाधिकारीहरूको शपथ ग्रहण सम्बन्धित निकायका पदाधिकारीबाट हुँदै आएको राष्ट्रपति कार्यालयले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।