काठमाडौं– नेपाली कांग्रेसमा जारी क्रियाशील सदस्यतासम्बन्धी विवादका विषयमा पार्टी पदाधिकारीहरुको बैठक पनि अनिर्णित बनेको छ। शुक्रबारको पदाधिकारी बैठकबाट क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्नेसम्बन्धमा केही निर्णय हुने अपेक्षा गरिएको थियो।
तर, क्रियाशील सदस्यतासम्बन्धी विवाद देखिएका जिल्लाको हकमा कुनै निर्णय हुन नसकेको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए।
क्रियाशील सदस्यतासम्बन्धी विवाद लगभग सकिएको लेखकले दाबी गरे। तर, केही जिल्लामा देखिएको विवादका विषयमा शुक्रबारको बैठकमा पनि सहमति जुट्न नसकेको उनको भनाइ छ।
‘हाम्रो वेभसाइटमा भएको डाटाअनुसार देशभित्रका ८ लाख ५२ हजार क्रियाशील सदस्य रहेका छन्। केही जिल्लाको विवाद कायमै छ। अहिले विदेशमा रहेका समेत गरेर करिब ९ लाख क्रियाशील सदस्य रहेको छ,’ उनले भने।
यता, तल्लो तहको अधिवेशनबारे पनि छलफल भएको उनले जानकारी दिए। ‘कांग्रेसको वडास्तरको अधिवेशन साउन १२ गते शुरु गर्ने भनिएको छ। तर, उक्त मिति केही सार्नसक्ने विषयमा पनि छलफल भएको छ,’ नेता लेखकले भने।
यस्तै, विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेका सुनिलकुमार थापालगायतको बिषयमा पनि छलफल भएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।