काठमाडौं– नेकपा एमालेको आन्तरिक विवाद पुनः चर्किएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच विभिन्न चरणमा हुँदै आएका वार्ताले एकता जोगिने अपेक्षा राखेका नेता–कार्यकर्ता पछिल्लो समयमा विकसित घटनाक्रमले निराश बनेका छन्।
केही दिन अगाडि कार्यदलस्तरमा १० बुँदै सहमति भएपछि पार्टीको विवाद समाधान हुने र एकता सुदृढ हुने दाबी गरिएको थियो। तर, सर्वोच्च अदालतको फैसलापछि एमाले अध्यक्ष ओली नेतृत्वको सरकार विस्थापित भएपछि त्यसको असर पार्टीको आन्तरिक विवादमा पनि देखिएको छ।
सरकारबाट बाहिरिनु परेपछि अध्यक्ष ओलीले नेपाललाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताइसकेका छन्।
कार्यदलस्तरमा भएको १० बुँदे सहमति कार्यान्वयनका लागि सहमति जुटाउनुपर्ने भन्दै दोस्रो तहका नेताहरुले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता गराउने प्रयास पनि गर्दै आएका छन्। तर, ओली र नेता नेपालले एक–अर्कासँगको वार्तालाई त्यति महत्व दिएका छैनन्।
नेपाल पक्षको असहमतिका बीच अध्यक्ष ओलीले शुक्रबार पार्टी स्थायी कमिटीको बैठक राखे। उक्त बैठकले एकता कार्यदल भंग गर्ने निर्णय गरेको छ। यद्यपि, बैठकले कार्यदलले गरेको १० बुँदै सहमति भने अनुमोदन गरेको जनाइएको छ।
पार्टीमा सहमतिभन्दा विवाद बढाउने क्रियाकलापहरु बढ्दै गइरहेको अवस्थामा पनि नेपाल पक्षका स्थायी कमिटी सदस्य गोकर्ण विष्ट भने एकता जोगाउन अन्तिमसम्म सक्रिय हुने बताउँछन्।
शुक्रबारको बैठकले विघटन गरेको एकता कार्यदलका सदस्य समेत रहेका विष्टले कार्यदलस्तरमा भएको सहमतिअनुसार नै पार्टी एकतालाई जोगाउन लागिरहेको बताए।
‘कार्यदलको १० बुँदे सहमतिलाई टेकेर पार्टी एकतालाई जोगाउने सन्भर्दमा हामी निरन्तर प्रयासमा छौं, अन्तिमसम्म प्रयत्न जारी राख्छौं, हामी कुनै पनि मूल्यमा पार्टी एकतालाई जोगाउन लागि पर्छौं,’ विष्टले नेपाल लाइभसँग भने।
पार्टी एकताका सन्दर्भमा विगतमा पनि बीच–बीचमा केही उतारचढावहरु आएको उदाहरण प्रस्तुत गर्दै नेता विष्टले अब पनि परिस्थिति सामान्य बन्ने आशा व्यक्त गरे।
‘सबै कुराहरु विधिसम्मत ढंगले अगाडि लैजानु पर्छ, हामी एकतालाई अन्तिमसम्म जोगाउँछौं, विगतमा पनि बीचमा धेरै उतारचढावहरु देखा परेका थिए, उतारचढावलाई पार गर्दै एकता जोगाउनु पर्छ,’ नेता विष्ट भन्छन्।
पछिल्लो समयका केही गतिविधिले पार्टी पंक्तिमा केही निराशा छाएपनि आफूहरु पार्टी एकता जोगाउन निरन्तर प्रयत्नशील रहेको उनले बताए। ‘अहिलेका कतिपय गतिविधिले पार्टी पंतिमा केही निराशा पनि छाएको हुनसक्छ। तर, एकता जोगाउनका लागि हामीले निरन्तर प्रयत्नलाई जारी राख्या छौं,’ विष्टले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।