काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठक रोक्न भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदलका सदस्यहरु बैठकस्थल पुगे।
शुक्रबार ग्वार्कोस्थित तुलसीलाल प्रतिष्ठानमा जारी स्थायी कमिटी बैठकलाई रोक्न भन्दै कार्यादलमा रहेका नेपालपक्षका नेताहरु भीम रावल, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पुगेका थिए।
नेपाल पक्षका नेताहरु बैठक स्थलमा प्रवेश गर्न खोज्दा अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई रोक्दै माइन्यूटमा हस्ताक्षर गरेर मात्र भित्र प्रवेश गर्न मिल्ने बताए।
त्यसपछि नेपालपक्षबाट कार्यदलका संयोजक भीम रावलले आफूहरु बैठकमा भन्दा पनि कार्यदलको दुईपक्षबीच भएको सहमति कार्यान्वयनका लागि आएको बताए।
अध्यक्ष ओलीले हस्ताक्षर नगरि नमिल्ने बताएपछि उनले आफू नेकपा एमालेको उपाध्यक्ष रहेको र उपाध्यक्षको हैसियतमा केही कुरा राख्न पाउनु पर्ने बताए। त्यसपछि उनलाई ओलीले बोल्नका लागि समय दिए।
रावलले तत्कालका लागि बैठक रोक्न आग्रह गर्दै १० बुँदे सहमति कार्यान्वयन तर्फ लाग्नुपर्ने बताए। तर अध्यक्ष ओलीले उनका कुरालाई वेवास्ता गर्दै बैठकका कार्यसूचीमा प्रवेश गरौं भन्दै बैठकलाई अघि बढाए। ओलीले बैठक रोक्न माधवपक्षले गरेको प्रस्तावलाई अस्वीकार गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।