काठमाडौं- नेपाली कांग्रेसको क्रियाशील छानबिन समितिले शुक्रबार (आज) आफ्नो जिम्मेवारी पूरा गर्ने तयारी गरेको छ।समितिलाई दिइएको समयसीमा भन्दा एकदिन ढिलो गरी क्रियाशील सदस्यको नाम टुंगो लगाउने भएको हो।
समितिमा समाधान निस्कन नसकेका क्रियाशील सदस्यको हकमा भने शीर्ष तहलाई जिम्मेवारी दिइने भएको छ। सप्तरी, सिराहा र बारा जिल्लाको क्रियाशील सदस्यताको विवाद समितिले टुंगाउन सकेको छैन।
पूरै जिल्लाभर विवादित रहेको तीन जिल्ला भएको बताइएको छ। अन्य केही जिल्लाका वडामासमेत विवाद छ। बारा जिल्लामा भएको विवादले नेता कार्यकर्ता केन्द्रीय कार्यालयमा धर्नामा बसेका छन्। प्युठानमा देखिएको विवाद आज समाधान निस्कने समिति सदस्य कल्याण गुरुङले जानकारी दिए।
कांग्रेसमा क्रियाशील सदस्यताको संख्या ८ लाख ५२ हजार पुगेको छ। समितिले हरसम्भव आज काम सकेर समाधान निस्कन नसकेका स्थानसहित केन्द्रलाई प्रतिवेदन बुझाउने बताइएको छ।
१४ औं महाधिवेशनका लागि साउन १२ बाट तल्लो तहको अधिवेशन सुरु हुनेछ। विवादमा समाधान निकाल्न नसकिने स्थानमा १३ औं महाधिवेशनका प्रतिनिधि कायम राख्ने निर्णय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।