काठमाडाैं- सर्वोच्च अदातलले दोस्रोपटक भएको प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा फैसला सुनाउँदै महान्यायाधिवक्ता रमेश बडाल र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट न्यायाधीश र इजलास छनोटको विषयमा गरेको तर्कमा न्यायिक टिप्पणी गरेको छ। सोमबार सार्वजनिक गरिएको पूर्णपाठमा उनीहरु सीमा र मर्यादाभन्दा बाहिर गएको भनिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले असार २१ गते सुनुवाइ सकाएको थियो। त्यसको एक सातापछि फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै इजलासले यस्तो टिप्पणी गरेको हो।
इजलाससमक्ष उठाइएका सरोकारप्रति संवेदनशील रही वर्तमान इजलास गठन भएपछि यस विषयको समुचित सम्बोधन भएको भन्ने अपेक्षा राख्नु स्वाभाविक रहेको तर त्यसो नभइ केही अनपेक्षित परिस्थितिहरु देखापरेको पूर्णपाठमा उल्लेख छ। इजलास गठन र संरचनाको विषय न्यायपालिकाको स्वतन्त्रतासँग सम्बन्धित आन्तरिक व्यवस्थापनको विषय भएको फैसलामा उल्लेख छ।
‘विषयको संवेदनशीलतालाई हेरी दोस्रोपटक इजलास गठन भएपछि रिट निवेदनउपर प्रारम्भिक सुनुवाइ पनि नहुँदै (अर्थात् कारण देखाऊ आदेश जारी नहुँदै) प्रत्यर्थी नेपाल सरकारसम्बद्ध निकाय र पदाधिकारीहरुको तर्फबाट सरोकार रहेको भनी प्रतिनिधित्व र प्रतीरक्षा गर्न उपस्थित हुन आउनुभएका विद्वान महान्यायाधिवक्ता लगायतका सरकारी वकिलसहितका कानुन व्यवसायीहरबाट जे जो भाषा, शैली, तर्क र विषयवस्तु प्रस्तुत हुन आए, त्यसलाई स्वाभाविक, तार्किक र ग्रहणयोग्य मान्न सकिएन,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘प्रधानमन्त्री विवादको प्रत्यर्थीमात्र नभएर संविधानबमोजिमको एक सम्मानित संस्था पनि हो। महान्यायाधिवक्ता केवल प्रधानमन्त्रीसहितका पदाधिकारी तथा सरकारी निकायहरुको तर्फबाट प्रतीरक्षा गर्ने कानुन व्यवसायी मात्र नभएर संविधान र कानुनबमोजिम सार्वजनिक जवाफदेहीता निर्वाह गर्नुपर्ने राज्यको एक उत्तरदायी संस्था पनि हो।’
सर्वोच्च अदाललते आफ्नो अन्तिम आदेशमा महान्यायाधिवक्ता बडालको नेतृत्वमा भएको त्यही घटनालाई ‘बिर्सनलायक’ भनी न्यायिक टिप्पणी गरेको छ।
महान्यायाधिवक्ता रमेश बडालले इजलासमा न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईप्रति गरेको बहसले उचित र शोभनीय ठान्न नसकेको टिप्पणी अदालतले गरेको छ।
‘कार्यपालिकाको प्रतिनिधित्व गर्ने सार्वजनिक उत्तरदायित्व रहेका पदाधिकारीहरुबाट अदालतको इजलास गठनका विषयमा प्रश्न उठाई न्यायाधीश छनोट गर्न खोजेको जस्तो देखिनेगरी प्रस्तुत हुनुलाई स्वतन्त्र न्यायपालिकासम्बन्धी अवधारणाका दृष्टिले उचित र शोभनीय कुरा ठान्न सकिएन,’ पूर्णपाठमा भनिएको छ, ‘यस प्रकारका न्यायिक व्यवस्थापनको विषयमा नीतिगत दृष्टिकोण निर्माणका सन्दर्भमा सुझाव, सरोकार र चासो व्यक्त हुनु स्वाभाविक पनि हुन्छ। तर, यसका पनि केही सीमा र मर्यादाहरु हुन्छन्।'
विघटनविरुद्ध सोमबार जारी फैसलाको पूर्णपाठमा ‘महान्यायाधिवक्ताले न्यायाधीश छनोट गर्न खोजेको’ न्यायिक टिप्पणी गरिएको छ। नयाँ संविधान जारी भएपछि बडाल पहिलो महान्यायाधिवक्ताको रुपमा यसरी न्यायिक टिप्पणीमा पर्ने व्यक्ति भएका छन्। पहिलो दिन रिट निवेदनकले संवैधानिक इजलासमा परेका न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठको नाममा प्रश्न उठाएका थिए।
उनीहरूले न्यायाधीश केसी र श्रेष्ठ नेकपाको एकीकरण बदर गर्ने र त्यसमाथि पुनरावलोकन नगर्ने आदेश गरेका न्यायाधीश भएकाले दुई न्यायाधीश यो विवादमा पनि बस्न नहुने माग गरेका थिए। यस्तो मागपछि न्यायाधीश केसी र श्रेष्ठले आफूहरूले इजलास नछाड्ने अडान लिएका थिए भने अन्य दुई न्यायाधीशले अलग बस्ने राय सुनाएका थिए। त्यसपछि प्रधानन्यायाधीश जबराले न्यायाधीशहरूको वरिष्ठताका आधारमा इजलास गठन गरेका थिए।
यसरी नयाँ इजलास गठन भएपछि महान्यायाधिवक्ताको नेतृत्वमा सरकारी वकिलहरूले न्यायाधीशद्वय कार्की र भट्टराईले इजलास छाड्नैपर्ने अडान राखेका थिए भने प्रधानमन्त्रीका निजी कानुन व्यवसायीसमेत उभिएर बहस नै गरेका थिए। तर, न्यायाधीश खतिवडाले बाँकी दुई न्यायाधीशले इजलास छाड्न आवश्यक नरहेको बताउँदै यही इजलासले निरन्तरता पाउने बताउँदै अर्को दिन सुनुवाइ अघि बढाएका थिए। त्यसपछि मात्रै अदालतमा नियमित सुनुवाइ अघि बढेको थियो। सर्वोच्चभित्र प्रधानन्यायाधीशलाई अरु न्यायाधीशले विवाद गरेपछि यो विषयमा सर्वोच्च बार र न्यायाधीश खतिवडाले समेत सहजकर्ताको कार्य गरेका थिए।
सर्वोच्च अदाललते आफ्नो अन्तिम आदेशमा महान्यायाधिवक्ता बडालको नेतृत्वमा भएको त्यही घटनालाई ‘बिर्सनलायक’ भनी न्यायिक टिप्पणी गरेको छ।
सर्वोच्च अदालतले न्यायाधीश मुद्दाको सुनुवाइबाट अलग हुनुपर्छ भन्ने कुरालाई कुनै पनि पक्षले अधिकारका रूपमा तथा प्रतिस्पर्धात्मक शैलीमा दाबी गर्न नमिल्ने भनेको छ।
‘मुद्दाको सुनुवाइबाट अलग हुने वा नहुने भन्ने न्यायाधीश र इजलासको तजबिजको कुरा हो। यो तजबिजको उचित प्रयोग भए/नभएको कुराको निरूपण गर्ने कानुनी प्रक्रियाहरू पनि निर्धारित छन्,’ पूर्णपाठमा भनिएको छ, ‘तर, इजलासभन्दा बाहिरबाट यस विषयमा दृष्टिकोण निर्माण गर्ने प्रयास गर्न वा प्रभाव पार्ने कोसिस गर्न वा विवादका पक्षहरूले यसलाई नै सर्तका रूपमा अगाडि सार्न र यस्ता कुरामा अडान राख्न मिल्दैन।’
त्यसप्रकारका प्रवृत्तिहरूलाई स्वीकार गरियो भने थिति बिथोलिने, न्याय सम्पादन प्रक्रियामा अवाञ्छित अवरोध पैदा हुने खतरा रहने फैसलामा उल्लेख छ। ‘न्यायिक कार्यप्रतिको आस्था र विश्वसनीयतामा असर पर्ने कार्य हामी कोही कसैले पनि गर्न हुँदैन। वैयक्तिक आग्रह/पूर्वाग्रह राखेर न्यायिक प्रक्रियामा अवरोध पैदा गरिनु कोही कसैको पनि हितमा छैन,’ पूर्णपाठमा भनिएको छ, ‘आग्रह वा पूर्वाग्रहप्रेरित आशंकालाई स्वीकार गर्न थाल्ने हो भने परिणामतः न्याय सम्पादन प्रक्रिया गतिशील हुन नसक्ने कुरा निश्चित नै छ।’
फैसलामा विवादको सुनुवाइ गर्नबाट दुईजना न्यायाधीश (दीपककुमार कार्की र आनन्दमोहन भट्टराई)ले अलग रहनुपर्ने भनी इजलाससमक्ष लिइएको जिकिर 'एउटा अनपेक्षित र बिर्सनलायक परिघटना' बन्न गएको उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।