काठमाडाैं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको आसन्न १४औं महाधिवेशनमा सभापतिका लागि साझा उम्मेदवार अगाडि सार्न नेताहरु सकारात्मक बनेको बताएका छन्। पार्टी सभापति शेरबहादुर देउवाइतरका नेताहरुको छलफलपछि उनले उक्त जानकारी दिएका हुन्।
नेता केसीकै आह्वानमा आज देउवाइतर सभापतिका आकांक्षी नेताहरुबीच छलफल भएको हो। बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित महामन्त्री डा. शशाङ्क कोइराला, नेताहरु प्रकाशमान सिंह, डा. रामशरण महत, डा. शेखर कोइराला, नेतृ सुजाता कोइराला लगायत सहभागी थिए।
छलफलमा सहभागी नेताहरु १४औं महाधिवेशनबाट पार्टी एकतालाई मजबुत बनाएर लैजानुपर्नेमा सहमत भएको नेता केसीले बताए। 'मुलुकको वर्तमान चुनाैतीपूर्ण परिस्थितिलाईसमेत मध्यनजर गर्दै पार्टी एकता मजबुत् बनाउनुपर्ने र त्यसका लागि १४ औं महाधिवेशनमा साझा उम्मेदवार लिएर जाने कुरामा छलफल सकारात्मक भएको छ,' उनले भने, 'म त सुरुदेखि नै आशावादी थिएँ र पाँच महिनाअघिदेखि नै एक भएर जानुपर्छ भन्दै आएको थिएँ। आज पनि म एकदमै आशावादी छु्।'
आजको छलफल पार्टी महाधिवेशन, देशको समसामयिक परिस्थिति, सर्वोच्च अदालतको फैसलापछि आउनसक्ने परिदृश्यलगायत विषयमा केन्द्रित भएको उनले बताए।
'पार्टीलाई नेतामुखी होइन नीतिमुखी बनाउनुपर्ने आवश्यकता छ। व्यक्तमुखी होइन विचारमुखी र पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई सशक्त र जीवजन्त बनाउने एउटा पाटो छ भने देशको राजनीतिक तथा आर्थिक चुनाैती अर्को पाटो छ। यी समग्र विषयमा छलफल गर्याैं,' नेता केसीले भने।
१४औं महाधिवेशन निष्पक्ष, पारदर्शी र विधिसंगत रुपले होस् भन्ने आफ्नो धारणा रहेको बताउँदै उनले त्यसमा सबैले सहयोग गराैं भन्ने आग्रह गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।