काठमाडौं- नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरुले निर्वाचन आयोग पुगेर माओवादी पार्टी अवैधानिक भएको भन्दै तत्काल खारेज गर्न दबाब दिएका छन्।
एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर थारु लगायत नेताहरु शुक्रबार आयोग पुगेर आफूहरुले दिएको निवेदनको प्रक्रिया किन अघि नबढेको भन्दै दबाब दिएका हुन्।
माओवादी केन्द्र अवैधानिक भएकाले आफूहरुलाई कारबाही गर्न नसक्ने भन्दै उनीहरुले गत बुधबार निर्वाचन आयोग पुगेर उजुरी दिएका थिए।
आफूहरुले निवेदन दिएको दुई दिन पुग्दासमेत किन प्रक्रिया अघि बढाउन ढिलाइ भएको भन्दै शुक्रबार आयोगका पदाधिकारीसमक्ष जिज्ञासा राखेको नेता प्रभु साहले बताए।
उनीहरुले आयोगका सचिव सुरेश अधिकारीलाई भेटेर दर्ता गराएको निवेदनबारे जिज्ञासा राखेका हुन्। ‘हामीले माओवादी केन्द्र अवैधानिक भयो भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थियौं। त्यस निवेदनको प्रक्रिया के भयो? त्यस निवेदनउपर छिटो प्रक्रिया चाल्नु पर्यो भनेर आफ्नो कुरा राख्यौं,' साहले भने, ‘आयोगबाट निवेदनका विषयमा अध्ययन गरिरहेको र छिट्टै प्रक्रिया अघि बढाउँछौ भन्ने जानकारी पाएका छौं।’
संविधान र कानुन बमोजिम नेकपा माओवादी केन्द्रको दलीय हैसियत कायम हुन नसक्ने भएकाले दल दर्ता खारेजी हुनुपर्छ भन्दै बुधबार पूर्वमाओवादीपक्षका तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए।
माओवादी केन्द्रका नेताहरुले भने माओवादी पार्टी अवैधानिक छ भनेर उजुरी दिनु, चर्चा गर्नु गैरराजनीतिक कार्य भएको टिप्पणी गरेका छन्।
माओवादी केन्द्र बन्नुअघि एकीकृत माओवादी भएकाले त्यस पार्टीको महाधिवेशन २०६९ सालमै भएकोले त्यसमा प्रश्न उठाउने ठाउँसमेत नभएको माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले बताए। उनले एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ समूहलाई माओवादी केन्द्रको नभएर एमालेकै चिन्ता गर्न सुझावसमेत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।