काठमाडौं- नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि बस्दैछ। बैठक बिहीबार बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो।
सोमबारदेखि लगातार बसिरहेको बैठक निष्कर्ष नजिक रहेको नेताहरुले बताएका छन्। कार्यदलका सदस्य प्रदीप ज्ञवालीले बिहीबारसम्म विवाद टुंग्याउने गरि लाग्ने बताएका थिए। विवादका धेरै विषय निष्कर्ष नजिक रहेको र आजसम्म टुंगिने उनको भनाइ थियो।
कार्यदल निष्कर्ष नजिक पुगेसँगै हिजो साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो।
पछिल्लो समय निकै कटुतापूर्ण सम्बन्धमा रहेका ओली र नेपालबीच बुधबार साँझ काठमाडौंको नागपोखरी, नक्सालस्थित मेरियट होटलमा झण्डै दुई घण्टा वान अन वान वार्ता भएको थियो।
अलग पार्टीको अभ्यासमा अघि बढिसकेका एमालेका दुई शीर्ष नेताबीचको यो वार्ता कुनै निष्कर्षमा भने पुगेन। वार्तापछि ओली र नेपालले कुनै प्रतिक्रिया नदिएपनि त्यो वार्ताअघि ओली र नेपालसहित मेरियटमै भएको संयुक्त छलफलमा सहभागी एमालेका दोस्रो तहका नेताहरु भने बुधबार साँझको वार्ताबाट आशावादी देखिएका छन्।
दुई अध्यक्षबीचको कुराकानीका आधारमा आज कार्यदलको बैठकमा थप छलफल हुने नेताहरुले बताएका छन्।
एमालेमा देखिएको विवाद समाधानका लागि केही समय अघि गठन भएको कार्यदल निष्क्रिय थियो तर सोमबारदेखि कार्यदल फेरि सक्रिय भएसँगै निरन्तर बैठक बस्दै आएको छ।
कार्यदलमा दुवैपक्षका पाँच/पाँच जना नेता छन्। ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्। नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त छन्। नेपाल पक्षबाट कार्यदलमा नेता भीम आचार्य थप भएका छन्।
गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।