काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच बुधबार साँझ भएको वार्ता सकिएको छ। दोस्रो तहका नेताहरुले ओली र नेपाल दुवैबाट संयुक्त वक्तव्य (सन्देश) जारी गर्ने गरी वार्ताको वातावरण बनेको बताएपछि भएको वार्ता बुधबार नै ठोस सहमतिमा भने पुगेन।
वार्तामा सहभागी दोस्रो तहका नेताहरुले ओली र नेपालबीच भेटवार्तामा सकारात्मक कुराकानी भएको बताएका छन्।
लामो समयको संवादहीनता तोड्दै बुधबार बेलुकी दुई नेताबीच काठमाडौंको नागपोखरी (नक्साल)स्थित होटल मेरियटमा भेटवार्ता भएको हो।
सञ्चारकर्मीसँग कुरा गर्दै एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले ओली र नेपालबीचको वार्ता सकारात्मक रहेको दाबी गरे।
ओली र नेपालबीचको वार्तामा सहभागी नेता पाण्डेले वार्तामा भएका कुराकानीबारे पछि सार्वजनिक गरिने बताए। नेता पाण्डेले एकता कार्यदलका सदस्यहरुबीच फेरि वार्ता हुने बताए।
'आज अध्यक्ष र वरिष्ठ नेताबीच सकारात्मक कुराकानी भएको छ। वार्तामा भएका कुराकानीबारे पछि सार्वजनिक गरिने छ,' नेता पाण्डेले भने, 'केही विषयहरु टुंग्याउनका लागि हामी कार्यदलका सदस्यहरु भोलि (बिहीबार) फेरि बस्छौं।'
वार्ता सकेर वार्तास्थल (होटल मेरियट)बाट निस्किने क्रममा कुराकानीका विषयमा भने ओली र नेपालले भने कुनै प्रतिक्रिया दिन मानेनन्।
मेरियटको वार्तामा सहभागी एमाले महासचिव ईश्वर पोखरेलले दुवै नेताबीच सौहाद्र्धपूर्ण रुपमा कुराकानी भएको, पार्टीलाई एकतावद्ध पार्ने कुरामा दुवै सकारात्मक रहेको र त्यसका लागि टुंग्याउनुपर्ने विषयगत छलफल हुन बाँकी रहेको नेपाल लाइभलाई बताए।
'सकारात्मक परिस्थिति बनेर नै दुई नेताबीच छलफल भएको हो', पोखरेलले भने, 'उहाँहरुले फेरि पनि बसेर विषयहरु टुंग्याउन पहल गर्नुहुनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।