काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य डा शेखर कोइरालाबीच भेटवार्ता भएको छ।
कांग्रेसको आउँदो भदौमा हुने १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका निधि र डा कोइरालाबीच सोमबार दिउँसो भेटवार्ता भएको हो। निधि निवास मध्यबानेश्वरमा उनीहरु बीच करिब दुई घण्टा छलफल भएकाे थियाे।
पछिल्लो समय दुवै नेताले आफ्नो उम्मेदवारीका पक्षमा भेटघाट र छलफल तीव्र पारेका छन्। उनीहरुले आफूहरु उम्मेदवारीबाट कुनै हालतमा पछि नहट्ने बताउँदै आएका छन्।
सोमबारको भेटमा पनि दुवैले त्यही कुरा दोहोर्याए। छलफलको शुरुमा निधिले आफूले सभापतिको उम्मेदवार गर्ने निधो गरिसकेकाले आफूलाई सघाउन आग्रह गर्दै सभापतिबाहेक अरु जुनुसुकै कुरामा सघाउन आफू तयार रहेको बताएका थिए।
तर, डा कोइरालाले यसपालि आफू सभापतिको उम्मेदवारीबाट पछि हट्न नसक्ने भन्दै आफूलाई सघाउन आग्रह गरेका थिए।
'मैले १३औं महाधिवेशन लगत्तैदेखि सभापतिको उम्मेदवार बन्न मिहिनेत गरेको छु, देशभरका कार्यकर्ता भेटेको छु, अब म पछि हट्न सक्दिनँ', डा कोइरालाले निधिलाई भनेको उद्धृत गर्दै स्रोतले भन्यो, 'म एक कार्यकाल मात्र सभापति बन्ने हो, यसपालि मलाई सघाउनुस्।' निधिले भने आफूलाई सघाउन आग्रह गरेको उनीनिकट स्रोतले बतायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।