काठमाडौं- कोलम्बियाका राष्ट्रपतिसहित रक्षामन्त्री सवार हेलिकोप्टरमा गोली प्रहार भएको छ। भेनेजुएलाको सीमा नजिकबाट उडान भरिरहेका बेला उनीहरु सवार हेलिकोप्टरमा गोली प्रहार भएको हो।
उक्त हमलाको समयमा हेलिकोप्टरमा राष्ट्रपति इवान ड्यूक, रक्षा मन्त्री र आन्तरिक मामला मन्त्री नार्टे डे सेन्टाडेर प्रान्तका लागि जाँदै थिए। उनीहरुका साथ उक्त प्रान्तका गभर्नर पनि थिए।
राष्ट्रपतिका प्रवक्ताका अनुसार यस हमलामा कोही घाइते भएका छैनन्।
राष्ट्रपति इवान ड्यूकले यसलाई ‘कायर हमला’ बताउँदै आफू यस्तो हिंसा र आतंकवादी हमलाबाट नडराउने उल्लेख गरे। उनले कोलम्बिया यस्तो हमलाको सामना गर्नका लागि निकै शक्तिशाली रहेको बताए। उनले कोलम्बियाली सुरक्षा बललाई उक्त हमलाका लागि जिम्मेवारहरु पत्ता लगाउन आदेश दिएका बीबीसीले जनाएको छ।
स्थानीय पत्रिकाका अनुसार हेलिकोप्टरमा बसेका व्यक्तिले इन्जिनमा केही चिज ठोकिएको आवाज सुनेका थिए। त्यतिबेला हेलिकोप्टर जमिनबाट केही माथिको उचाईमा थियो।
जुन क्षेत्रमा कोलम्बियाली राष्ट्रपतिको हेलिकोप्टरमा हमला भएको थियो त्यहाँ वामपन्थी विचारधाराको नेशनल लिब्रेशन आर्मी (ईएलएन) निकै सक्रिय रहेको छ।
ईएलएन देशको सबैभन्दा ठूलो विद्रोही समूह मध्ये एक हो। जसलाई कोलम्बियाको सरकारले मात्र होइन अमेरिका र यूरोपीय संघ पनि चरमपन्थी संगठन मान्छन्।
१९६४ मा विद्रोही समूह बनेको थियो जसको उदेश्य देशको भूमि र धनको असमान वितरणका विरुद्ध लड्नु थियो।
यस महिनाको शुरुआतमा ईएलएनले यस क्षेत्रमा भएको एक कार बम हमलामा आफ्नो संलग्नता इन्कार गरेको थियो। उक्त कार बम हमलामा ३६ जना घाइते भएका थिए। जसमध्ये दुई अमेरिकी सैन्य सल्लाहकार पनि थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।