काठमाडौं– ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोकाे सरकारमाथि काेराेनाविरुद्ध खोप खरिदमा अनियमितता गरेको आरोप लागेको छ। उनकै सरकारले भारतीय कम्पनी बायोटकले विकास गरेको कोरोनाविरुद्धको खोप उच्च मूल्यमा किन्न खोजेको आरोप लागेको हो।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार गत फेब्रुअरीमा ब्राजिलले भारत बायोटेकसँग खोप खरिदको सम्झौता गरेको थियो। उक्त सम्झौता भारत बायोटेकले भनेकै मूल्यमा गरिएको थियो।
यता, ब्राजिलको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बोल्सोनारोमाथि उच्च मूल्यमा भारत बायोटेकको कोरोना खोप खरिदको सम्झौताको लागि दबाब आएको बताएका छन्।
यो विवादमा बोल्सोनारोमाथि निरन्तर प्रश्न उठिरहेको बेला ब्राजिलका संघीय अभियोजकले भारत बायोटेकको कोभ्याक्सिनको दुई करोड डोजको लागि ३२ करोड डलरको सम्झौताको विषयमा अनुसन्धान सुरु गरेका छन्।
तर, बोल्सोनारोले ब्राजिलमा अहिलेसम्म बायोटेकको खोप पनि नआएको र कम्पनीलाई कुनै भुक्तानी पनि नदिइएको बताएका छन्।
‘हामीले कोभ्याक्सिनका लागि न पैसा खर्च गरेका छौं न अहिलेसम्म कोभ्याक्सिनको कुनै खोप ल्याएका छौं। यसमा भ्रष्टाचारको कुरा कहाँबाट आयो?’ शुक्रबार ब्राजिलका बोल्सोनारोले भनेका छन्।
ब्राजिलमा फाइजरले गतवर्ष कोभ्याक्सिनभन्दा पनि कम मूल्यमा खोप दिने प्रस्ताव गरेको थियो। तर, सरकारले फाइजरको प्रस्तावमा उदासीनता देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।
‘कोभ्याक्सिनको प्रयोग गर्ने अनुमति अहिलेसम्म ब्राजिलमा दिइएको छैन। यद्यपि, तेस्रो चरणको क्लिनिकल परीक्षणको लागि ब्राजिलको पर्टनर कम्पनीको माध्यमबाट अनुमति मिलेको छ,’ उनले भनेका छन्।
उनले सरकार खोपको सम्झौता संघीय स्वास्थ्य नियामकले प्रयोगको लागि अनुमति दिएपछि मात्रै गर्ने जनाउँदै भ्रष्टाचार भएको जानकारी आए कारबाही गरिने जानकारी दिए।
‘मेरो सरकारमा कुनै पनि भ्रष्टाचारको मुद्दा आए कारबाही गर्नेछु। तर, भारत बायोटेकको खोपको मूल्य ब्राजिलमा पनि अन्य मुलुकमा जस्तै हो,’ उनले भनेका छन्।यद्यपि, भारत बायोटेकले विदेशी सरकारका लागि खोपको मुल्य १५–२० डलर रहेको र यसमा कुनै परिवर्तन नगरिएको स्पष्ट पारेको छ।
यता, भारतले कोरोना खोप निर्यातको लागि लगाएको प्रतिबन्धको कारण ब्राजिलमा खोप पठाउन नसकिएको र कम्पनीलाई कुनै भुक्तानी पनि नदिइएको रोयटर्सले जनाएको छ।
ब्राजिलमा कोरोना संक्रमणको कारण अहिलेसम्म ४ लाख ७० हजार बढीको मृत्यु भइसकेको छ। गत महिना ब्राजिलमा कोरोना महामारी नियन्त्रण गर्न नसकेको भन्दै मुलुकभर बोल्सोनारोको विरुद्धमा प्रदर्शन भएको थियो। उक्त प्रदर्शनमा हजारौं मानिसहरु सहभागी भएका थिए।
यता, ब्राजिलको ब्युटानतन इन्स्टिच्युटका प्रमुखले सिनेटको पनि समितिमा बोल्दै बोल्सोनारोले खोप अभियानमा ढिलाइ गरेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।