काठमाडाैं- चीन सरकारले व्यापक हस्तक्षेप गरेसँगै हङकङको प्रजातन्त्रको पक्षमा वकालत गर्ने एप्पल डेली पत्रिका बन्द हुने भएकाे छ।
राष्ट्रिय सुरक्षा कानुनको घेरामा रहेको यस पत्रिकाको सम्पत्ति फ्रिज भएपछि बन्द हुन लागेकाे हाे। आउँदो शनिबार अन्तिम अंक प्रकाशन गर्ने कम्पनीको बोर्डले घोषणा गरेको छ।
सरकारी अधिकारीले गएको हप्ता एप्पल डेलीसँग जोडिएका तीन कम्पनीको २३ लाख अमेरिकी डलर बराबरको रकम फ्रिज गरेका थिए।
पत्रिकाका संस्थापक जिमी लाईका सल्लाहकार मार्क सिमोनले सरकारले गरेको व्यवहारका कारण पत्रिका बन्द हुन लागे आराेप लगाएका छन्।
‘सुरक्षा ब्युरोले सम्पत्ति फुकुवा गर्न आदेश नदिएकाले हाम्रो खातामा रहेको पैसा दिन बैंकले अस्वीकार गरेको छ। पत्रिकाले केही गर्न सक्ने अवस्था छैन। कर्मचारीलाई तलबसमेत दिन सकेका छैनाैं। अन्य आर्थिक झमेला थप उत्पन्न भएकाे छ,’ लाईका सल्लाहकार सिमोनले भने।
एप्पल डेली मुख्यक्षेत्र चीन सरकारप्रति आलोचनात्मक भएको बताइन्छ। यस पत्रिकाका संस्थापक जिमी सन् २०१९ को सरकारविरुद्धको आन्दोलनमा युवाहरूसँगै सडकमा उत्रिएका थिए।
हङकङमा सुपुर्दगी सन्धि लगायत लोकतान्त्रिक आन्दोलनलाई सक्रिय साथ दिँदै आएका जिमी सरकारले विदेशीहरूसँग मिलेर चीन विरोधी गतिविधि गरेको सन्देहमा पक्राउ गरेको थियो। हाल पनि उनी हिरासतमै छन्।
सन् २०१९ यो पत्रिकाले हङकङ र चीनलाई अन्तर्राष्ट्रिय समुदायले प्रतिबन्धात्मक नियमहरु लगाउनु माग गर्दै ३० भन्दा बढी लेख छापेको प्रहरीले आरोप लगाएको छ।
यसबीचमा हालै राष्ट्रिय सुरक्षा कानुन उल्लंघन गरेकै आरोपमा ५ सय प्रहरीले एप्पल डेलीमा छापा हानिएको थियो। सो क्रममा पत्रिकाका प्रधान सम्पादक राएन लसहित मातृ संस्था नेक्स्ट डिजिटलका सिइओ चेउङ्ग किम–हुङ्ग, सिओओ चोव तात–कुएन, एप्पल डेलीका प्रकाशक चान पुइ–मान र निर्देशक चेउङ्ग ची–वाईलाई बिहीबार नियन्त्रणमा लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।