काठमाडौं- अफगानिस्तानको पूर्वी प्रान्त कुनारस्थित एक अस्पतालमा रकेट आक्रमण भएको छ।
उक्त आक्रमणमा चरमपन्थी संगठन तालिबानको हात रहेको हुन सक्ने अफगानिस्तानको सरकारी अधिकारीले अनुमान लगाएका छन्। तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने अस्पतालमा भएको आक्रमणमा संगठनको हात नरहेको दाबी गरेका छन्।
रकेट आक्रमणको कारण अस्पतालमा आगलागी भएको छ। आगलागीको कारण ठूलो क्षति भएको जनाइएको छ। आगोबाट कोरोनाविरुद्धको खोपलागतयका महत्वपूर्ण स्वास्थ्य सामग्री जलेर नष्ट भएको अधिकारीहरुले बताएका छन्।
तालिबानले मंगलबार मात्रै ताजकिस्तानसँगको प्रमुख सीमामा पनि नियन्त्रण कायम गरेको अधिकारीहरुले बताएका छन्। कुन्दुज प्रान्तको सो शिर खान बन्दरगाह कब्जा गरेकाे छ।
मंगलबार तालिबानले बन्दरगाह, शहर र ताजिकिस्तानको सबै सीमा चौकी कब्जा गरेसँगै त्यहाँ कार्यरत सरकारी अधिकारी र सुरक्षाकर्मीहरु भागेको बताइएको छ।
‘एक घण्टा लडाइँ पछि दुर्भाग्यवस तालिबानले शिर खान बन्दरगाह, शहर र ताजिकिस्तानको सबै सीमा चौकी कब्जा गर्यो,’ कुन्जुद प्रान्तीय परिषदका सदस्य खालिद्दीन हकमीले भने।
तालिबान बिद्रोहीले राज्यको राजधानीबाहेक सबै क्षेत्रमा आफ्नो नियन्त्रण रहेको बताएका छन्। स्थानीय सञ्चारमाध्यमहरुले पनि तालिबानले आफ्नो पडक बिस्तार गर्दै लगेको उल्लेख गरेका छन्।
सेनाका एक अधिकारीले आफ्नो नाम न छाप्न शर्तमा एएफपी समाचार एजेन्सीलाई भने,‘हामीलाई सबै चेक पोस्टहरू छोड्न बाध्य पारियो। हाम्रा केही सिपाहीहरूले सीमा पार गरेर ताजिकिस्तान प्रवेश गरेका छन्। बिहानसम्म सयौंको संख्यामा तिनीहरू (तालिबानी लडाकु) जताततै थिए।’
तालिबानीका प्रवक्ता मुजाहिदले उक्त स्थान कब्जा गरेकाे स्वीकार गरे।
‘हाम्रा मुजाहिद्दीनहरूले शिर खान बन्दरगहा र ताजिकिस्तानसँगै सबै सीमा रहेकाे कजाखण्डमा पूर्ण नियन्त्रणमा लिएका छन्,’ उनले एएफपीलाई भने।
संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त
विदेशी सैनिकहरु फिर्ता हुन थालेसँगै पछिल्लो केही सातायता अफगानिस्तानमा सरकारी सेना र तालिबानबीचको युद्ध बढेको छ। तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रण पनि बढाइरहेको छ।
अमेरिकासहितका देशले आफ्ना बाँकी सैनिकहरु फिर्ता लैजाने तरखर गरेसँगै अफगानिस्तानमा तालिबानले सरकारमाथिको आक्रमण तीव्र पारेको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ।
अमेरिका र नेटाका सदस्य राष्ट्रहरुले आउँदो सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानबाट सैनिक फिर्ता लैजाने तयारी गरेका छन् र त्यसमा उनीहरु प्रतिवद्ध रहेको बताउँदै आएका छन्।
यद्यपि, राष्ट्रसंघले अफगानिस्तानमा पुनः हिंसा र अस्थिरताको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेको छ।
गएको मे यता अफगानिस्तानका ३७० जिल्ला मध्ये ५० जिल्लामा तालिबान बिद्रोहीले हिंसात्मक आक्रमण गरेको राष्ट्रसंघका विशेष दूत डेबरा लायन्सले सुरक्षा परिषद्लाई जानकारी दिएकी छिन्।
‘सैन्य गतिविधि बढाएर तालिबानले आफ्नो पकड बिस्तार गरेको छ। यसले आउँदा दिनमा अवस्था थप भयावह हुनसक्न छ। अफगानिस्तानमा हिंसा बढ्दै जानु भनेको छिमेक र पर रहेका देशहरुका लागि सुरक्षा चुनौति बढ्नु हो।यसबारे सोच्नुपर्ने स्थिति आएको छ,’ १५ सदस्यीय संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक उनले भनेकी छिन्।
तालिबानले हाल नियन्त्रण कायम गरेका जिल्लाहरु क्षेत्रीय राजधानी वरपरका रहेको र विदेशी सैनिक फिर्ता गए लगत्तै ती राजधानीहरुमा नियन्त्रण कायम गर्ने लक्ष्य तालिबानको हुन सक्ने उनको भनाइ छ।
यता, अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किर्बीले तालिबानका गतिविधिहरुले सैनिक फिर्ता बोलाउने अभियानमा कुनै प्रभाव नपर्ने बताएका छन्। तर, उनले वर्तमान अवस्थाबारे निगरानी भइरहेको जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।