काठमाडाैं- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अमेरिकी न्युज वेबसाइट एक्जियसलाई दिएको एउटा अन्तर्वार्ता बिवादमा परेको छ।
पत्रकार जोनाथन स्वेनसँग सो अन्तर्वार्ता आइतबार एचबीओ म्याक्स टेलिभिजन प्लेटफर्ममा प्रसारण भएको थियो।
उक्त अन्तर्वार्तामा ‘महिलाले छोटो कपडा लगाउँदा पुरुषलाई प्रभाव पर्छ’ भन्ने अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका हुन्।
उनले भनेका छन्,‘पाकिस्तानमा डिस्को र नाइट क्लब छैन। यो बिल्कुल अलग समाज हो जसको अलग्गै तवर तरिका छन्। यदी रोबोट होइन भने महिलाले छोटो कपडा लगाउँदा पुरुषलाई प्रभाव पर्छ।’
उनले पाकिस्तानमा बढ्दो महिला हिंसाजस्ता अपराधको जड महिलाले लगाउने कपडा भएको बताएका छन्।
‘यदि तपाईं यहाँ प्रलोभन बढाउनुहुन्छ र युवाहरुलाई कतै जानको लागि मौका दिनुहुँदैन भने तब त्यसको केही विपरित परिणाम हुन्छ,’ उनले भनेका छन्।
के कपडाकै कारण यौन हिंसा बढेको हो? भन्ने स्वेनकाे प्रश्नमा इमरान खानले समाजको बनावट अनुसार हिंसा निम्तने बताए।
‘यदी समाजमा छोटो कपडा नलगाउने संस्कार छ र छोटो कपडा लगाएको देखियो भने त्यहाँ प्रभाव पर्छ। पश्चिमा समाज र आफ्नो समाजमा यस विषयमा फरक दृष्टिकोण रहन्छ,’ उनले भनेका छन्।
पाकिस्तानको आधिकारिक तथ्यांक अनुसार यहाँ २४ घण्टामा कम्तिमा ११ बलात्कारका घटनाहरु प्रहरी चाैकीमा दर्ता हुने गरेकाे छ।
पछिल्ला ६ वर्षमा मात्रै पाकिस्तानमा करिब २२ हजार बलात्कारका घटना दर्ता भएका थिए। यद्यपि पाकिस्तानमा बलात्कारका दोषीलाई सजायबाट उन्मुक्ति मिल्ने गरेकाे देखिएकाे छ। पाकिस्तानमा सजाय दर एक असामान्य ०.३ प्रतिशत रहेकाे छ।
गत वर्षको डिसेम्बरमा पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले बलात्कार रोक्न अध्यादेश अनुमोदन गरेका थिए।
जसले महिला र बालबालिकाको दुर्व्यवहारको मुद्दा चलाउन विशेष अदालतहरू गठन गर्न पाउने छन्। कानूनले चार महिना भित्र पूरा हुने कानूनी कारवाहीमा जान आदेश दिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।