काठमाडौं– त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचनमा उम्मेदवारीको अवसर गुमाएका युवा नेता अनोज कार्की नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य बन्ने दौडमा छन्।
कार्कीले कोशी प्रदेशको ३५ वर्षमुनिका युवा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्।
कांग्रेसको आधिकारिक उम्मेदवार सूचीअनुसार उक्त क्लस्टरमा एक पदका लागि १३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
कार्कीले पार्टीको केन्द्रीय तहमा पुगेर युवाका मुद्दालाई प्राथमिकतामा राख्दै अभियान सञ्चालन गर्ने योजना बनाएका छन्।
यसअघि उनी त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिको उम्मेदवार बन्ने तयारीमा थिए। नेविसंघबाट उम्मेदवारी दिने तयारी गरेका कार्की संगठनभित्रको विवादका कारण अन्तिम प्रतिस्पर्धाबाट बाहिरिएका थिए। त्यसबेला नेविसंघबाट दीपक जोशीको नाम सदर भएपछि कार्कीको उम्मेदवारी अघि बढ्न सकेन।
स्ववियुबाट नेतृत्वमा आउने प्रयास असफल भएपछि कार्की अहिले पार्टीको केन्द्रीय तहमा पुग्ने प्रयासमा छन्।
कांग्रेसले १५औँ महाधिवेशनमार्फत ३५ वर्षमुनिका युवाका लागि प्रदेशगत रूपमा छुट्टै क्लस्टरको व्यवस्था गरेको छ। कोशी प्रदेशमा ३५ वर्षमुनिका युवा खुलातर्फ एक र महिलातर्फ एक गरी दुई जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ। प्रदेशबाट एक महिलासहित दुई जनाका दरले १४ तथा खुलातर्फ सात जना गरी २१ युवा केन्द्रीय कार्यसमितिमा निर्वाचित हुनेछन् । यसबाहेक खुला प्रतिस्पर्धाबाट थप युवा पनि केन्द्रीय तहमा आउन सक्ने व्यवस्था गरिएको छ ।
कार्कीले प्रतिस्पर्धा गरिरहेको युवा खुलातर्फ गोविन्द लिम्बू, गौरव भण्डारी, जयन्तदेव पौडार, दीपेन्द्र न्यौपाने, दोर्ची शेर्पा, मदन भण्डारी, विकल राई, विश्वराज तामाङ, समुन्द्र पोखरेल, सरोज थापा, सुविन पराजुली र हेमकाजी बस्नेत पनि उम्मेदवार छन्।
यसपटक कांग्रेसको केन्द्रीय नेतृत्वमा युवाको प्रतिनिधित्व बढाउने उद्देश्यसहित ३५ वर्षमुनिको छुट्टै क्लस्टर बनाइएको छ। यही व्यवस्थाबाट केन्द्रीय समितिमा पुग्ने प्रयासमा रहेका कार्कीले स्ववियुबाट रोकिएको आफ्नो राजनीतिक यात्रालाई पार्टीको केन्द्रीय तहबाट अघि बढाउने प्रयास गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।