काठमाडाैं- इजरायलका विदेश मन्त्रालयका प्रवक्ता लाइओर हाइयातले इरानको राष्ट्रपतिमा निर्वाचित भएका इब्राहिम राइसीको विषयमा अन्तर्राष्ट्रिय समुदायले गम्भीर ध्यानाकर्षण गर्नुपर्ने बताएको छन्।
राइसी इतिहासको सबैभन्दा अतिवादी राष्ट्रपति भएको बताउँदै उनले इरानको न्युक्लियर गतिविधि बढाउन सक्ने आशंका व्यक्त गरेका छन्। शनिबार इरानका इस्लामिक कट्टरपन्थी विचारधाराका प्रधानन्यायाधीश राइसी भारी मत प्राप्त गरेर राष्ट्रपतिमा निर्वाचित भएका थिए।
सन् १९८८ मा हजारौं राजनीतिक बन्दीहरुको सामूहिक हत्याको आरोप खेप्दै आएका राइसीमाथि संयुक्तराज्य अमेरिकाले प्रतिबन्धहरु लगाइरहेको छ। साथै उनीमाथि सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुँदा धेरै मानिसलाई मृत्युदण्ड दिनेगरी फैसलाहरु गरेकाे आराेप पनि छ।
राइसीले आगामी अगष्ट महिनामा आफ्नो पदभार ग्रहण गर्नेछन्। निर्वाचनमा एक करोड ७९ लाख मत प्राप्त गरेर जित हात पारेसँगै उनले सरकारप्रति आम मानिसको विश्वास फर्काउने प्रतिबद्धता जनाएका छन्। साथै उनले आफू समग्र मुलुकको नेता बन्ने पनि बताए।
इजरायल र इरानबीच लामो समययता छाया युद्ध चल्दै आएको छ। यी दुई मुलकबीच विशेषगरी न्युक्लियर कार्यक्रमको विषयलाई लिएर विवाद उत्पन्न हुने गरेको छ। जसका कारण विभिन्न विषयमा दुई मुलुकबीच तनाव उत्पन्न हुने गरेको छ।
इजरायलका पूर्वप्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानबाहेकका अरब मुलुकहरु आफ्ना मित्रराष्ट्र रहेको बताउँदै आएका थिए। उनले इरान र इस्लामिक स्टेटविरुद्धको गठबन्धनमा इजरायल र अरब मुलुक एकै ठाउँमा उभिन प्रेरित गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।