काठमाडाैं- संयुक्त राज्य अमेरिकाले ताइवानमा २५ लाख डोज कोरोनाविरुद्धकाे खाेप पठाएको छ।
अमेरिकी राज्य विभागका प्रवक्ता नेड प्राइसले शनिबार ट्विट गर्दे ताइपेइको लागि २५ लाख डोज मोडेर्नाको खोप ढुवानी गरेको जानकारी दिएका हुन्।
यसअघि अमेरिकाले ताइवानलाई ७ लाख ५० हजार डोज खोप प्रदान गर्ने वाचा गरेको थियो। तर, यतिबेला अमेरिकाले संख्या बढाएर २५ लाख डोज खोप प्रदान गर्न लागेको हो। अमेरिकाले पठाएको खोप ताइवानको स्थानीय समयअनुसार आइतबार साँझ पुग्ने छ।
ताइवानमा यतिबेला हरेक १ लाख व्यक्तिमध्ये ६ जनाले मात्र खोप लगाउन पाएका छन्। ताइवानमा २ करोड ३६ लाख मानिसहरु छन्। ताइवानले महामारीलाई नियन्त्रण गर्न प्रभावकारी कदम चालेकाे थियाे, जसका कारण हालसम्म १३ हजार ९ स संक्रमित फेला परेका छन्। यस्तै ५ सय ३८ काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।
ताइवानलाई चीनले आफ्नो क्षेत्र भएको दाबी गर्दछ। ताइवानलाई आफूले सैन्य कारवाही गरेरै कब्जा गर्ने चीनले बताउँदै आएको छ। ताइवानसँग कसैले आफ्नो सहमति बेगर स्वतन्त्र रुपमा सहमति र सम्झौता गर्न नपाउने चीनको भनाइ छ।
यसैबीच चीनले ताइवानलाई पुग्दो खोप सहयोग गर्ने वचन दिएकाे थियाे। तर, ताइवानले भने चिनियाँ खोप अस्वीकार गरिरहेको छ। अमेरिकाले अटेर गर्दै ताइवानलाई सहयोग गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।