काठमाडौं- गत वर्ष (सन् २०२०)मा विश्वभर युद्ध, हिंसा, उत्पीडन र मानवअधिकार उल्लंघनका कारण आफ्नो घर छोड्ने व्यक्तिहरूको संख्या करिब आठ करोड २४ लाख पुगेको छ। शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले शुक्रबार जेनेभामा पछिल्लो वार्षिक विश्वव्यापी प्रवृत्ति प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
प्रतिवेदनअनुसार सन् २०१९ को तुलनामा यो संख्या चार प्रतिशतले बढी हो। २०१९ को अन्त्यमा यस्ता व्यक्तिहरूको संख्या सात करोड ९५ लाख थियो।
सन् २०२० को अन्त्यसम्ममा यूएनएचसीआरको कार्यक्षेत्रअन्तर्गत दुई करोड सात लाख शरणार्थी, ५७ लाख प्यालेस्टिनी शरणार्थी र विदेशमा विस्थापित ३९ लाख भेनेजुएलाका नागरिक रहेको प्रतिवेदनमा उल्लेख छ। अर्को चार करोड ८० लाख जनसंख्या आफ्नै मुलुकभित्र आन्तरिकरूपमा विस्थापित भएका छन्। यसबाहेक थप ४१ लाख जना आश्रययाचकहरू रहेको उल्लेख छ। ‘यी संख्याहरूले महामारी र विश्वव्यापी युद्धविरामको आह्वानका बाबजुद् पनि मानिसहरूलाई आफ्नो घरबाट विस्थापन गर्ने द्वन्द्व कायमै छ भन्ने कुराको संकेत गर्दछ,’ कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सन् २०२० भर ३२ लाखजति आन्तरिकरूपमा विस्थापित व्यक्ति र दुई लाख ५१ हजार शरणार्थीमात्र आफ्नो घरमा फर्किन सकेको प्रतिवेदनमा उल्लेख गरिएको छ। सन् २०१९ को दाँजोमा यो संख्या क्रमशः ४० र २१ प्रतिशतले न्यून हो। अर्को ३३ हजार ८०० शरणार्थी आश्रयदाता मुलुकमा नागरिकको रूपमा अंगीकृत भएको जनाएको छ।
उच्चायुक्तको कार्यालयले हिंसा र उत्पीडनका कारण झण्डै दशक लामो समयदेखि बढ्दो विस्थापनलाई रोक्न र उल्ट्याउने पहल थाल्नका निम्ति शान्ति, स्थिरता एवं सहकार्यलाई बढावा दिने आफ्ना प्रयासहरूलाई प्रवद्र्धन गर्न विश्वका नेताहरूलाई आह्वान गरेको छ।
‘शरणार्थीहरूको पुनर्वासमा उल्लेख्य कमी आयो। विगत २० वर्षमा सबैभन्दा कम स्तरमा अर्थात् ३४ हजार ४०० शरणार्थीमात्र पुनर्वास हुन सके। पुनर्वास गराइने स्थानको कमी र कोभिड-१९ का कारण यस्तो नतिजा आएको पाइन्छ,’ प्रतिवेदनमा भनिएको छ।
‘यसको समाधानका लागि विश्वका नेताहरू र प्रभावशाली व्यक्तित्वहरूले आफ्ना भिन्नताहरूलाई थाँती राख्दै, राजनीतिप्रतिको दम्भी दृष्टिकोण अन्त्य गर्दै द्वन्द्वको निवारण तथा समाधानमा ध्यान केन्द्रित गर्नु एवं मानवअधिकारप्रति सम्मानलाई सुनिश्चित गर्नुपर्दछ,’ प्रतिवेदन ससार्वजनिक गर्दै शरणार्थीहरूका लागि राष्ट्रसंघीय उच्चायुक्त फिलिपो ग्रान्डीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।