काठमाडाैं- भारतको कुम्भमेलामा सहभागी एक लाखभन्दा धेरैको कोरोना परीक्षण रिपोर्ट नक्कली रहेको पुष्टि भएकाे छ।
हरिद्वारका दुई निजी प्रयोगशालाले दिएको अप्रिल १ देखि ३० तारिखसम्मको कोरोना परीक्षणको रिपोर्ट मध्ये एक लाखभन्दा धेरै नक्कली पाइएको बीबीसी हिन्दीले जनाएकाे छ।
कुम्भमेलामा सहभागी हुने मानिसको कोरोना परीक्षणको लागि हरियाणा र दिल्लीका निजी प्रयोगशालालाई दिइएको थियो। तर, कोरोना रिपोर्टमा नक्कली नाम, मोबाइल नम्बर र ठेगाना उल्लेख गरेको पाइएको समाचारमा जनाइएकाे छ।
कुम्भमेलामा आएर फर्किएका मानिसबाट भारतभर कोरोना संक्रमण फैलिएको विभिन्न प्रतिवेदनहरुले पनि देखाएका थिए।
यद्यपि, कुम्भमेलाको क्रममा हरिद्वारमा ठूलो संख्याका श्रद्धालुको कोरोना परीक्षणको संक्रमण पुष्टि हुने दर अन्य जिल्लाको तुलनामा निकै कम बताइएको थियो। नक्कली रिपोर्ट दिएको कारण कोरोना संक्रमण फैलिएको हुनसक्ने पनि देखिएको छ।
यस विषयमा अहिले नैनीतालको उच्च अदालतमा याचिका दर्ता गरिएको छ र यस विषयमा अनुसन्धानको माग गरिएको छ।
उत्तराखण्डको सरकारले ठूलो आर्थिक अनियमितता र लापारबाही भएकाे भन्दै अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छ।
कुम्भमेलामा सहभागी मानिसहरुले मास्क लगाउने, भौतिक दुरी पालना गर्नेजस्ता जनस्वास्थ्यका नियम पालना गरेका नगरेकाे समाचारमा उल्लेख छ। जसको कारण उक्त मेलामा सहभागी हुने मानिसहरुमा संक्रमण अत्यधिक देखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।