रंगुन- बर्मेली सुरक्षा सेनाले स्थानीय छापामारसँग झडप भएपछि म्यानमारको मध्य भागमा रहेकाे एउटा गाउँमा आगजनी छन्।
बीबीसीका अनुसार सैन्य शासनविरुद्ध रहेका केही संख्याका मिलिशिया छापामारसँग गोलाबारी भएपछि सेनाले रुष्ट हुँदै मंगलबार किन मा गाउँमा आगजनी गरेका हुन्।
सेनाले लगाएकाे आगोबाट २ सयदेखि २४० घर जलेर नष्ट भएका छन्। सो क्रममा दुई वृद्ध भाग्न नसक्दा डढेर मृत्यु भएको समाचारमा उल्लेख छ। म्यानमारका लागि बेलायती राजदूत डान चुगले यो घटनाकाे भर्त्सना गरेका छन्।
'जुन्ताले म्याग्वेको एउटा गाउँ पुरै जलाएको र वृद्ध मानिसको हत्या गरेकाे खबर छ। यसैबाट प्रमाणित हुन्छ सेनाले गम्भीर अपराध गरिरहेको छ। बर्मेली जनताप्रति सेनाकाे कुनै सम्मान छैन,' उनले फेसबुकमा भनेका छन्।
यता, एमआर टीभीले जानाजानी सेनालाई बदनाम गर्ने योजनास्वरुप आगाे लगाइएकाे दाबी गरेकाे छ। यद्यपि, स्थानीयवासीले यसलाई नकारेका छन्।
'मंगलबार सेना र पिपुल्स डिफेन्स फोर्स (पीडीएफ)बीच झडप भएकाे थियाे। उक्त समूह भर्खरको सैनिक गतिविधिका परिणामस्वरूप गठन भएका थिए र उनीहरूले घरेलु हतियारहरूसहित प्रहरी र सेनाविरूद्ध लड्न थालेका थिए,' एक स्थानीयवासीले बीबीसीलाई भने।
'जब पीडीएफका सदस्यहरू घर फर्किए, त्यहीबेला सेनाहरु गाउँमा आए र दक्षिणी भागमा रहेका घरहरू आगाे लगाउन थाले। लगभग पूरै गाउँ जलेर खरानी भएकाे छ,' उनले थपे।
अर्का स्थानीयवासीका अनुसार सेनाले घरहरुमा आगाे लगाएपछि गाउँलेहरू जंगलमा भागेका थिए। 'सबै स्थानीय ज्यान बचाउन जंगलमा भागे। दुई जना वृद्धहरू भाग्न नसक्दा आगोमा परे। उनीहरु त्यहीँ जलेर मरे। केही व्यक्तिहरु अझै पनि हराइरहेका छन्,' उनले भने।
यसैबीच त्यहाँ गाेली चलेकाे अर्का स्थानीयवासीकाे भनाइ छ। 'आगो गाउँको जताततै बलिरहेकाे थियाे। हामीले ठूलो ज्वालाहरू देख्यौं। बन्दुक चलिरहेकाे थियाे। आफ्नो ज्यान जोगाउन भाग्नुपर्यो र हामीले यसलाई टाढाबाट नियाली रहेका थियाैं,' उनले भने।
रोयटर्सका अनुसार आगो यत्ति ठूलो थियो कि यो नासाको उपग्रह आगलागी प्रणालीले मंगलबार स्थानीय समयअनुसार बेलुका ३:१५ मा रेकर्ड गरेकाे थियाे।
गत फेब्रुअरी १ देखि म्यानमारमा सैन्य शासन लागू भएको छ। लोकतान्त्रिक नेतृ आङ साङ सुचीको पार्टी एनएलडीले नोभेम्बरमा सम्पन्न चुनावमा धाँधली गरेर बहुमत ल्याएको आरोप लगाउँदै सेनाले सत्ता हत्याएको थियो। त्यसपछि सूची, राष्ट्रपति विन मिन्टसहित देशका शीर्ष नेताहरुलाई सेनाले नजरबन्दमा राखेकाे छ।
सूचीलाई जेल हाल्ने हेतुका साथ सेनाले विभिन्न आधादर्जन आरोपहरु लगाएका छन्। त्यो मुद्दाहरुकाे सुनुवाइ साेमबारबाट नेपिडोस्थित अदालतमा बहस भइरहेको छ। सेनाका अनुसार आरोपहरु पुष्टि भएमा सूची १५ वर्षसम्म जेल जीवन बिताउनुपर्छ।
बीबीसीका अनुसार हालसम्म सैन्य शासनविरुद्ध प्रदर्शनमा उत्रिएका ८ सयभन्दा बढीको प्रहरी र सेनाले चलाएकाे गोली लागेर ज्यान गइसकेको छ। ५ सयभन्दा बढी प्रदर्शनकारी अझै थुनामा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।