काठमाडाैं- चीनले आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि तीन जना अन्तरिक्ष यात्रीसहितको सेन्झाउ-१२ रकेट प्रक्षेपण गरेको छ।
चीनको अन्तरिक्ष केन्द्र (सीएमएसए) का अनुसार लङ मार्च टूएफ रकेटको टुप्पोमा रहेको सेन्झाउ–१२ नामको यात्रुवाहक यानमार्फत् उनीहरू उत्तरपश्चिम स्थित गोबी मरूभूमिबाट चिनियाँ समयानुसार बिहान ९.२२ बजे अन्तरिक्षमा प्रस्थान गरेका हुन्।
प्रक्षेपण गरिएको करिब ५७३ सेकेन्डपछि सेन्झाउ–२ भूउपग्रह अन्तरिक्ष केन्द्रमा प्रवेश गरेको थियो। पाँच वर्षपछि अन्तरिक्षमा यात्री पठाएको चीनले लामो समयका लागि यात्री पठाएको भने यो पहिलो पटक हो।
अन्तरिक्षयात्रीहरु निई हाइसङ, लिउ बोमिङ र टाङ होङ्बो रहेका छन्। पृथ्वीबाट ३८० किलोमिटरमाथि रहेको तियन्गोङ स्पेस स्टेसनमा उनीहरुले तीन महिना बिताउनेछन्।
तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्र निर्माणमा यी अन्तरिक्ष यात्रीले काम गर्नेछन्। यो कार्यलाई चीनको बढ्दो अन्तरिक्ष क्षमताको रूपमा हेरिएको बीबीसीले जनाएकाे छ।
चीनले यसअघि पनि अन्तरिक्षमा मानव पठाइसकेको छ। यो चीनको सातौं मानवसहितको अन्तरिक्ष यात्रा हो। चीनले पाँच वर्ष यता मानवसहितको रकेट अन्तरिक्षमा प्रक्षेपण गरेको थिएन। गएको छ महिनामा चीनले चन्द्रमाबाट चट्टान र माटोको नमुना ल्याएको थियाे। यस्तै मङ्गल ग्रहमा ६ पाङ्ग्रे यान उतारेको थियाे।
हाल अन्तरिक्षयात्रीलाई स्पेस स्टेसनमा पठाउनुको उद्देश्य निर्माणाधीन अन्तरिक्ष स्टेसनलाई सक्रिय बनाउने रहेको बताइएकाे छ। उनीहरुले त्यहाँ रहँदा अन्तरिक्ष केन्द्रमा निर्माण र मर्मतका साथै वैज्ञानिक अनुसन्धान गर्नेछन्।
हाल संयुक्त राज्य अमेरिका र रूससँग मात्र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र छन्। त्यहाँ पृथ्वीबाट पठाइएका अन्तरिक्ष यात्रीहरू महिनौं बसेर अध्ययन र अनुसन्धानका कार्यहरू गर्ने गर्दछन्।
यी केन्द्रमा अमेरिका र रुस समेत अन्य देशका अन्तरिक्ष यात्रीलाई अवसर दिइए पनि चीनलाई भने सुरक्षा खतरा भन्दै सहभागी गराइ रहेको छैन। जसका कारण चीनले आफैंले अन्तरिक्ष केन्द्र बनाइरहेको हो।
यस अन्तरिक्ष केन्द्रको मुख्य खण्ड गत अप्रिल २९ मा चीनले अन्तरिक्षमा पठाइएको थियो। गत महिना अन्तरिक्ष यात्रीका लागि आवश्यक इन्धन, खाद्यान्न र उपकरण बोकेको कार्गो रकेट पठाइएको थियो। सीएमएसएले भूउपग्रह र त्यहाँ यात्रारत सबै अन्तरिक्ष यात्रीको अवस्था राम्रो रहेकाले अन्तरिक्ष कार्यक्रम सफल भएको जनाएको छ।
उनीहरूले चीनको अन्तरिक्ष कार्यक्रममा तीन महिनासम्म बसेर नयाँ रेकर्ड कायम गर्ने छन्। यसअघि सन् २०१६ मा सेन्झाउ-११ बाट अन्तरिक्ष गएका यात्रीहरू ३३ दिनसम्म अन्तरिक्षमा बसेका थिए।
यसपटक अन्तरिक्षको यात्रामा जानेहरूले यसअघिका भन्दा निकै जटिल र चुनौतीपूर्ण कार्य गर्नु पर्ने चिनियाँ अन्तरिक्ष केन्द्रका सहायक निर्देशक हाओ चुनले बताए। यसपटक अन्तरिक्ष यात्रीहरुले खासगरी अन्तरिक्ष केन्द्रको सञ्चालन, सरसफाई, उपकरणको परीक्षण एवं केही वैज्ञानिक अनुसन्धान गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।