काठमाडाैं- इजरायलले गाजापट्टीमा रहेकाे हमासको अड्डामा पुन: हवाई आक्रमण गरेको छ। इजरायको सुरक्षा बल (आईडीएफ)का अनुसार इजरायलमा हमासले आगो लगाउने बेलुनले आक्रमण गरेसँगै प्रतिशाेधस्वरुप यो आक्रमण गरिएको हो।
मंगलबार यहुदी राष्ट्रवादीहरुले इजरायलको कब्जामा रहेको पूर्वी जेरुसलेममा एक जुलुस निकालेको थियो। त्यसपछि गाजामा शासन गरिरहेको संगठन हमासले धम्की दिएको थियो।
साे घटनामा पश्चात गाजापट्टीबाट फ्याँकिएको आगो फैलाउने बेलुनको कारण धेरै स्थानमा आगलागी भएको इजरायलको अग्नि नियन्त्रकले जनाएकाे छ। यद्यपि, क्षतिकाे बिबरण भने सार्वजनिक गरिएकाे छैन।
इजरायलको सेनाले गरेको आक्रमणको कारण गाजापट्टीमा केही विष्फोट भएको बताइएकाे छ। अहिलेसम्म यो आक्रमणमा मानवीय क्षति भएको वा नभएको भन्ने स्पष्ट हुन सकेको छैन।
'यी क्षेत्रमा आतंकवादी गतिविधि भइरहेको थियो, इजरायलको सेनाले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ,'गाजापट्टीबाट जारी आतंकवादी गतिविधिलाई ध्यानमा राख्दै इजरायली सेना युद्ध सुरु गर्नेसहितका सबै अवस्थाको लागि तयार छ।'
इजरायलमा नयाँ सरकार बनेसँगै हमास र इजरायलबीचको यो पहिलो हिंस्रक झडप हो। गत मे महिनामा दुई पक्षबीचको ११ दिनसम्मको युद्धपछि युद्धविराम सम्झौता भएको थियो। जुन युद्धमा घर, विद्यालय, अस्पताल र अन्य महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेकाे छ।
उक्त द्वन्द्वमा ६६ बालबालिकासहित कम्तिमा २५४ प्यालेस्टिनको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
यता, हमासले गरेको रकेट हमलामा इजरायलमा दुई बालबालिकासहित १२ जना मारिएका थिए।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले याे युद्धमा गाजापट्टीका ७७ हजारभन्दा बढी नागरिक आन्तरिक रूपमा विस्थापित भएका थिए र ३० भन्दा बढी स्वास्थ्य संस्थाहरुमा क्षति पुगेको बताएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।