काठमाडौं- आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रदेश सभामा प्रस्तुत गर्दै प्रदेश १ सरकारले बजेटमा संघीय सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशका सबै नागरिकलाई कोभिड खोप उपलब्ध गराउने विषय समावेश गरेको छ।
साथै, प्रदेश सरकारले कोभिड महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि ४४ करोड रुपैयाँ विनियोजन गरेको छ। यसैगरी कोभिडको उपचार तथा नियन्त्रणको लागि अग्रपंतिमा खटिनेहरुका लागि अतिरिक्त पारितोषिक व्यवस्था गर्ने विषय बजेटमा समावेश गरेको छ।
यसैगरी प्रदेश सरकारले समग्र स्वास्थ्य सेवा विस्तारका लागि तीन अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको छ। शिक्षा क्षेत्रको विकास र सुधारका लागि एक अर्ब १९ करोड रुपैयाँ विनियोजन गरेको छ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समावेशीकणका लागि प्रदेश सरकारले २१ करोड २७ लाख रुपैयाँ विनियोजन गरेको छ। युवा, खेलकुद, श्रम तथा रोजगार क्षेत्रमा लागि १६ करोड रुपैयाँ विनियोजन भएको छ। जसमा मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रमको लागि मात्रै १० करोड विनियोजन भएको छ।
यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारीका लागि दुई अर्ब ९० करोड रुपैयाँ विनियोजन भएको छ। जसमा कृषि क्षेत्रमा दिँदै आएको अनुदानलाई उत्पादनसँग जोड्ने गरी अनुदान दिन चार करोड र मेरो कृषि मेरो पौरख नाराका साथ सुरु गरिएको प्रदेश प्रमुख नवप्रवर्तन कृषि कार्यक्रमका लागि पाँच करोड ७२ लाख रुपैयाँ विनियोजन भएको छ।
यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थापनका लागि १८ करोड रुपैयाँ सरकारले विनियोजन गरेको छ। यसैगरी संस्कृति, पर्यटन तथा जैविक विविधताका लागि प्रदेश १ सरकारले ८३ करोड ३८ लाख रुपैयाँ विनियोजन गरेको छ। यसैगरी, वन, वन्यजन्तु तथा वातावरण संरक्षणका लागि एक अर्ब ३६ करोड विनियोजन भएको छ।
यसैगरी, भौतिक पूर्वाधार तथा यातायात क्षेत्रको पूर्वाधार विकास तथा सुधारका लागि १३ अर्ब २१ करोड विनियोजन भएको छ। यसैगरी, प्रदेश १ सरकारले सहरी विकास तथा आवासका लागि ५५ करोड रुपैयाँ विनियोजन गरेको छ। जसमा जनता आवास कार्यक्रमअन्तर्गत ४५ सय घर चालु आर्थिक वर्षमै निर्माण सम्पन्न गर्ने र थप तीन हजार घरको निर्माण थालनीका लागि ४६ करोड र पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालालगायत विभिन्न व्यक्तिको नाममा स्थापना भएका प्रतिष्ठान, फाउन्डेशन र अध्ययन केन्द्रलाई तीन करोड रुपैयाँसमेत विनियोजन भएको छ।
यसैगरी, ऊर्जा तथा सिँचाइका लागि तीन अर्ब १५ करोड रुपैयाँ आगामी आर्थिक वर्षका बजेटमार्फत् विनियोजन गरिएको छ। खानीपानी तथा सरसफाइ क्षेत्रका लागि एक अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएको छ।
प्रदेश १ सरकारको कुल बजेट ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।