काठमाडौं- केन्द्र सरकारको सिको गर्दै केही प्रदेश सरकारले पनि आन्तरिक पर्यटनको प्रवर्द्धन गर्ने भन्दै सरकारी कर्मचारीलाई पारिश्रमिक सहितको काज बिदा दिने घोषणा गरेका छन्।
केन्द्र सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा पर्यटन प्रवर्द्धनका लागि कर्मचारीलाई पारिश्रमिक सहतिको काज बिदा दिइने घोषणा गरेका थिए।
सोही घोषणाको सिको गर्दै लुम्बिनी प्रदेश सरकार र बागमती प्रदेश सरकारले पनि आगामी आवको बजेटमार्फत आन्तरिक पर्यटन प्रवर्द्धन गर्न भन्दै प्रदेशमा रहेका सरकारी कर्मचारीलाई पर्यटन काज बिदा दिने व्यवस्था गरेको गरेको छ।
बागमती प्रदेश सरकारले प्रदेश भित्रको उच्च पहाडी र तल्लो हिमाली क्षेत्रको पर्यटन गन्तव्यमा जान १० दिनको पारिश्रमिकसहित काज बिदा दिने बजेटमा व्यवस्था गरेको छ।
यस्तै, लुम्बिनी प्रदेशले पनि सोही अनुसार शुरुको स्केलको तलब बराबरको रकम हुन गरी पर्यटन काज बिदा दिने विषय बजेटमा समावेस गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।