काठमाडाैं- म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सूचीलाई सुनुवाइका लागि अदालतमा लगिएकाे छ। नियन्त्रणमा राखिएको चार महिनाभन्दा बढी समयपछि उनलाई अदालतमा लगिएकाे हाे।
उनीविरुद्ध लगाइएका आरोपहरुमाथि सोमबारदेखि सुनुवाइ शुरु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।
सत्ता नियन्त्रणमा लिएको म्यानमारको सेनाले ७५ वर्षीया नेतृ सूचीलाई अनियमितता गरेको लगायतका विभिन्न आरोपहरु लगाएको छ।
उनीसँगै अन्य नेता तथा उच्च अधिकारीहरूलाई पनि सैन्य सरकारले विभिन्न मुद्धाहरू लगाएको छ।
मंगलबार हुने सुनुवाइका क्रममा नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)का नेताहरू पनि उपस्थित हुने जनाइएको छ।
म्यानमारको जुन्ता सरकारले गत हप्ता पनि नेतृ सुकीका विरुद्धमा नयाँ आरोपहरूसहितको मुद्दा दर्ता गरेको थियो।
म्यानमारमा गत फेब्रअरी १ मा सेनाले विभिन्न दलका नेता तथा सरकारका उच्च अधिकारीहरुलाई नियन्त्रणमा लिएको थियो। नेताहरुलाई हिरासतमा राखेर सेनाले सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको थियो।
सेनाले सत्ता हातमा लिएसँगै म्यानमारमा अहिलेसम्म पनि नागरिक आन्दोलन भइरहेको छ। आन्दोलनका क्रममा अहिलेसम्म ८४० भन्दा बढीको मृत्यु भइसकेको छ भने अरु सयौँ घाइते भएका छन्।
सुरक्षाकर्मीहरुले दर्जनौँ आन्दोलनकारीहरूलाई नियन्त्रणमा लिएको छ भने कैयौँको खोजी भइरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।