काठमाडाैं- अमेरिकी कम्पनी नोभाभ्याक्सले विकास गरेको कोरोनाविरुद्धकाे खाेप विभिन्न किसिमका भेरियन्टमा प्रभावकारी देखिएको दाबी गरिएकाे छ।
नोभाभ्याक्सका सीईओ स्ट्यान्ली एर्कले कम्पनी अमेरिका र मेक्सिकोमा गरिएको क्लिनिकल परीक्षणमा खोप प्रभावकारी ९० प्रतिशत पाइएको जानकारी दिए।
उनका अनुसार नोभाभ्याक्सले गरेको क्लिनिकल परीक्षणमा १८ वर्षभन्दा माथिका करिब ३० हजार मानिस सहभागी भएका थिए। जसमध्ये दुई तिहाइलाई खोप दिइएको थियो भने बाँकी एक तिहाइलाई औषधि नहालेको खोप दिइएको थियो।
खोप लगाएका कसैलाई पनि कोरोनाको गम्भीर लक्षण देखिएन भने औषधि नराखिएको खोप दिएका १४ जनामा कोरोनाको गम्भीर लक्षण देखिएको उनले जानकारी दिए। उनले सबै नतिजाले खोप प्रभावकारी हुनुका साथै सुरक्षित पनि देखिएको दाबी गरे।
सेप्टेम्बरको अन्तिमसम्ममा यो खोपले प्रयोगको अनुमति पाउने विश्वास लिइएको उनले जानकारी दिए। त्यतिबेलासम्म मासिक १० करोड डोज कोरोना खोप उत्पादन गर्ने उनले बताएका छन्।
नोभाभ्याक्सका सीईओ एर्कलेका अनुसार खोप कम तथा मध्यम आय भएका मुलुकमा जाने छ। अमेरिकामा कोरोना खोपको माग घटे पनि विश्वका अन्य मुलुकमा भने माग उच्च छ। अहिले अमेरिकाको समग्र जनसंख्याको आधाभन्दा धेरैले कोरोनाको दुवै डोज खोप पाइसकेको छन्।
भण्डारण गरेर राख्न र ढुवानीका लागि सहज मानिएको नोभाभ्याक्सको खोप विश्वका अन्य मुलुकमा कोरोना संक्रमण नियन्त्रणको लागि निकै महत्वपूर्ण हुनसक्ने विश्लेषकहरुले बताएका छन्। विकासशील मुलुकमा एक प्रतिशतभन्दा कम मानिसले कोरोनाको दुवै डोज खोप पाएका छन्।
यद्यपि, त्यसका लागि केही महिना भने लाग्न सक्ने बताइएको छ। कम्पनीले अमेरिका, युरोप तथा विश्वका अन्य मुलुकमा खोपको प्रयोगका लागि अनुमति लिन आवेदन दिने योजना बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।